‘ कोरोना रातिमा मात्र लाग्छ र सरकार ?’

काठमाडौं : प्रशासनको अनुमति विना नै ठमेलका रात्रिकालिन व्यवसाय सञ्चालनमा आउन थालेका छन्।
कोरोना महामारीले गर्दा लामो समय बन्द रहेको रात्रिकालिन व्यवसाय व्यवसायीले आफुखुसी संचालनमा ल्याएका हुन्।
यतिबेला बेलुकी १० बजेसम्म व्यवसाय संचालन गर्न थालिएको व्यवसायीहरुले बताएका छन्।
लामो समय व्यवसाय बन्द हुँदा व्यवसायी र मजदुर रोग भन्दा भोकले मर्ने अवस्था सृजना भएपछि बाध्य भएर व्यवसाय सचालन गर्नु परेको उनीहरुको भनाई छ।
ठमेललाई पूर्ववत अवस्थामा संचालन गर्न पाउनुपर्ने मागसमेत समेत व्यवसायीले राख्दै आएका छन्।
ठमेल पर्यटन विकास परिषद्ले रात्रिकालिन व्यवसायको केन्द्र ठमेललाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न दिनुपर्ने माग राखेको छ।
परिषद्का उपाध्यक्ष राजुमान डंगोल मापदण्ड पालना गरेर सञ्चालनमा ल्याउन नसके पर्यटन क्षेत्र संकटमा पर्ने बताँउछन।
‘ठमेलबाहेकका क्षेत्रमा व्यवसाय सञ्चालनमा छन् ठमेललाई मात्र किन अर्को मापदण्ड ?’ उनी भन्छन, ‘हामीले प्रहरी, प्रशासन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, पर्यटन विभाग सबैलाई पूर्णरुपमा खुलाउन माग गरेका छौँ तर सुनुवाई भएको छैन।’
उनले प्रशासनलाई बोदार्थ दिएर सञ्चालन ल्याएको बताए।
व्यवसायीहरु सुरक्षित उपाए अपनाएर व्यवसाय सञ्चालनमा ल्याईएको बताँउछन्। बिहीबारबाट संचालनमा आएको नेपालकै ठूलो मानिने एलओडि क्लवले सुरक्षित उपाए अपनाएर क्लव संचालनमा ल्याएको जनाएको छ।
कलवका म्यानेजर रामेश्वर गिरी लामो समय बन्द हुँदा घाटाको हिसावकिताव नभएको बताँउछन्।
‘८ महिना २२ दिनपछि मापदण्डसहित संचालनमा ल्याएका छौँ यसबीचमा धेरै घाटा भयो।’
रातमा मात्र कोरोना सर्छ ?
व्यवसायीहरुले विरोधका कार्यक्रममार्फत ‘के रातमा मात्र कोरोना सर्छ हो ?’ ‘व्यवसाय खोलौँ कि आत्महत्या ?’ ‘सरकार गरिखान दे’ जस्ता प्ला कार्डमार्फत आफ्नो आक्रोश व्यक्त गरेका छन्।
व्यवसाय सञ्चालन नहुँदा मर्कामा परेको भन्दै व्यवसायी र मजदुरले स्वतस्फूर्त व्यवसाय खोल्न पाउनुपर्ने मागसहित मौन धर्ना, ठमेल भित्र मानव साङ्लो बनाउने लगायतका दबाबमुलक कार्यक्रम संचालन गर्दै आएका छन्।
ठमेल पर्यटन विकास परिषद् अन्र्तगतको रात्रिकालिन ब्यवसायी उपसमितिले आन्दोलनको नेतृत्व गरिरहेको छ।
उपसमितिका सचिव अशोक थापा सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराँउदासमेत वेवास्था गरेको बताँउछन्। ‘वेवास्था गरेपछि सामान्य रेष्टुरेन्टलाई संचालनको अनुमति दिइएको समयमा खोलेका हौँ’ उनी भन्छन,‘स्टाफलाई आधा तलव दिएर राखिएको छ। ९ महिनादेखि व्यवसाय ठप्प छ।’
महंगो भाडा तिर्न समस्या भएको उनले सुनाए। ‘विद्युत महसुल मिनाहाको कुरा पनि सरकारले सुनेन’ उनी भन्छन्। परिषद्का अनुसार ठमेलमा ७१ वटा रात्रिकालिन व्यवसाय संचालनमा छन्।
अनुमति छैन बन्द गर्छौँ
जिल्ला प्रशासन कार्यालय काठमाडौंले रात्रिकालिन व्यवसाय सञ्चालनको अनुमति नदिइएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) काली प्रसाद पराजुली ठमेलमा रात्रिकालिन व्यवसाय सञ्चालनको अनुमति नदिइएको बताँउछन्।
‘सिसिएमसी र क्याबिनेटले रोकेका बिषयलाई हामीले अनुमति दिएका छैनौँ। रात्रिकालिन व्यावसाय सञ्चालन गर्न भन्दै माग आएका छन’ उनी भन्छन्।
व्यवसायीका मागलाई जिल्ला संकट व्यवस्थापन समितिको बैठकमा छलफल गरेर सम्बन्धित मन्त्रालयमा पठाउने गरेको उनले बताए।
अनुमति बिना र मापदण्ड पालना नगरी संचालनमा आएका व्यवसाय प्रहरीमार्फत अनुगमन गराएर बन्द गराउने उनले जानकारी दिए।
यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले सरकारको निर्देशन विपरित खुल्ला रहेका केही व्यवसाय बन्द गराएको बताउछन्।
‘अहिले रात्रिकालिन व्यवसाय पूर्णरुपमा बन्द गर्ने नै निर्देशन छ’ सिंहले भने,‘खोल्नेबारे सरकार र प्रशासनबाट हामीलाई जानकारी आएको छैन।’
उनले ठमेलको व्यवसाय संचालनमा आएकोबारे आफुलाई रिर्पोटिङ नभएको उनको भनाइ छ।
मंसिर १८, २०७७ बिहीबार १५:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।