अनएराईभल भिषा छिट्टै जारी गर्ने तयारी 

अनएराईभल भिषा छिट्टै जारी गर्ने तयारी 

काठमाडौं : सरकारले छिट्टै अनएराईभल भिसा (सम्बन्धित देशमै अवतरण गरेपछि भिषा पाउने व्यवस्था) जारी गर्ने तयारी गरेको छ। 
अध्यागमन विभागका अनुसार स्वास्थ्य मापदण्ड पुरा गरेर भिषा प्रकृया सुरु गर्ने अन्तिम तयारी गरिएको हो। 
 

विभागका प्रवक्ता रामचन्द्र तिवारीले अनुसार विभागले सबै निकायसँगको समन्वयमा स्वास्थ्य मापदण्ड पुरा गरेर छिट्टै भिषा जारी गर्न लागेको बताए। 

‘अहिलेसम्म पर्यटन मन्त्रालयको सिफारिसमा आएकालाई मात्रै भिषा जारी गर्ने गरिएको छ’ उनले भने,‘सबैसँगको समन्वयमा स्वास्थ्य मापदण्ड पालना गरेर भिषा जारी गर्ने तयारी छ।’  

हवाईमार्ग र पैदलमार्गमार्फत नेपाल भित्रने पर्यटकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र नाकाहरुबाट भिषा जारी गर्ने गरिएकोमा कोराना महामारीका कारण स्थगित गरिएको थियो।

लकडाउन र अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध कायम रहेको समयमा पछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सिफारिसमा मात्र यस्ता भिषा जारी गर्ने गरिएको थियो। 

विभागका अनुसार महामारीको समयमा अत्यावश्यक काम, विदेशी कुटनीतिक नियोग, अन्तराष्ट्रिय संघसंस्था र अन्तराष्ट्रिय गैह्रसरकारी संस्थामा कार्यरत विदेशी नागरिकहरुलाई मात्र भिषा जारी गर्ने गरिएको थियो। उनीहरु पर्यटन, कुटनीतिक लगायतका विभिन्न भिषामा नेपाल आईपुगेका थिए। 

सीमामा भिषा जारी नहुने 

विभागका अनुसार हवाईमार्ग हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पर्यटकले मात्र यस्तो भिषाको सुविधा पाउनेछन्। 

विभागले यसअघि भारतीय चिनीँया नाका हुँदै नेपाल भित्रने पर्यटकलाई समेत सीमाना यस्तो भिषा जारी गर्ने गरेको थियो। तर,मन्त्रिपरिषद्ले विमानस्थल मात्रमा अनुमति दिएकाले नाकामा भिषा जारी गरिने छैन। 

‘मन्त्रिपरिषद्ले विमानस्थलमा अनुमति दिएकाले सीमामा भिषा जारी गर्ने छैन’ प्रवक्ता तिवारीले भने।

व्यवसायीमा आशाको सञ्चार 

व्यावसायी र सरोकारवालाले पर्यटन पुनरुत्थानका लागि अनएराईभल भिषा खुलाउनुपर्ने माग राख्दै आएका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्यटन पुनरुत्थान कार्यदलका संयोजक तथा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी यसलाई सकारात्मक कदम मान्छन। 

कार्यदलले यसबारे सरकारलाई सुझाव दिएको उनको भनाई छ। ‘सुरक्षित उपाए अपनाएर पर्यटकिय गतिविधि सञ्चालन गरेको अवस्थामा नेपाल आउन चाहने पर्यटकको संख्या धेरै छ।

कार्यदलले सरकारलाई सुझाव पनि दिएको थियो’ उनी भन्छन,‘यो क्षेत्रको पुनरुत्थानका लागि अनएराईभल भिषाले धेरै महत्व राख्छ।’

अनएराईभल भिषा जारी गर्ने तयारीसँगै व्यवसायी उत्साहित बनेका छन्। 
 

मंसिर १७, २०७७ बुधबार १७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।