अस्ट्रेलियाविरुद्धको तेस्रो वनडेमा भारत विजयी, शृंखला १-२ ले गुमायो

काठमाडौं : अस्ट्रेलियाविरुद्धको एकदिवसीय (वनडे) क्रिकेट शृंखलाअन्तर्गत तेस्रो खेलमा पाहुना टोली भारत १३ रनले विजयी भएको छ।
क्यानबेरामा आज (बुधबार) भएको खेलमा ३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित ४९.३ ओभरमा २८९ रनमा अलआउट भयो। उसका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ७५ रन जोडे। यस्तै, ग्लेन म्याक्सवेलले ५९, एलेक्स केरीले ३८ रनको योगदान दिए।
बलिङमा भारतका शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए। यस्तै, जसप्रित बुमराह र टि नटराजनले समान २ विकेट लिँदा कुलदीप यादव र रविन्द्र जडेजाले १/१ विकेट चट्काए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३०२ रन बनाएको थियो। मध्यक्रममा ब्याटिङ गर्न आएका हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले सतकीय साझेदारी गरेपछि भारतले तीन सयको आँकडा पार गरेको थियो। पाण्ड्या ९२ र जडेजा ६६ रनमा अविजित रहेका थिए। यस्तै, विराट कोहलीले ६३ रन बनाउँदा शुभमान गिलले ३३ रन जोडेका थिए।
बलिङमा अस्ट्रेलियाका एस्टोन अगारले सर्वाधिक २ विकेट लिएका थिए। यस्तै, एडम जम्पा, जोश हेजलवुड र सिन एबोटले समान १ विकेट चट्काएका थिए।
जितपछि पनि भारतले तीन खेलको एवदिवसीय क्रिकेट शृंखलामा १-२ ले गुमाएको छ। यसअघि भारत पहिलो वनडेमा ६६ र दोस्रोमा ५१ रनले पराजित भएको थियो।
क्रिकइन्फो डट कम
मंसिर १७, २०७७ बुधबार १७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।