सियोनाको उपचारका लागि सिद्धार्थ जेसीजको सहयोग

भैरहवा : जेसीआई सिद्धार्थ नेपाल भैरहवाले बालिका सियोना श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग गरेको छ।
केही महिनादेखि गम्भीर बिरामी भई उपचाररत श्रेष्ठको उपचारका लागि जेसीजले ७५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो।
जेसीजका पूर्वअध्यक्ष, पदाधिकारी, सदस्य, साधारण सदस्यले रकम संकलन गरेर बालिका सियोनाका हजुरबुबा पूर्ण गुरुङलाई हस्तान्तरण गरेको जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष मंगल भण्डारीले जानकारी दिए।
जेसीजले चलाएको अभियानमा उद्योगी रामगोपाल गोयन्काले १० हजार, रोशन न्यौपानेले बिभिन्न व्यक्तिसंग संकलन गरी ३५ हजार र बुद्धिराम यादवले ५ हजार रुपैयाँसमेत थप सहयोग गरेको अध्यक्ष भण्डारीले बताए।
१४ महिने बालिका सियोनालाई स्पाइनल मस्कुलर एट्रोफि नामक रोग लागेको छ। उनको विगत तीन महिनादेखि पोल्याण्डमा उपचार भइरहेको छ।
उनको उपचारका लागि नेपाली २५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। उपचारका लागि हालसम्म भण्डै १४ करोड रुपैयाँ संकलन भएको सियोनाका हजुरबुबा गुरुङले बताए।
‘अझै ११ करोड रुपैयाँ उपचार खर्च चाहिन्छ, उक्त सहयोग जुटाउन यहाँहरुले थप सहयोग गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ’, उनले भने।
जेसीजका पूर्वअध्यक्ष ओम श्रेष्ठले एउटी बालिकाको जीवन रक्षाका लागि संस्थाको तर्फबाट सहयोग गर्न पाउँदा निकै खुशी भएको बताए।
उनले सियोनाको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गरे। श्रेष्ठले प्राणघातक रोगलाई सियोनाले जितेर आउनेमा आफूहरु विश्वस्त रहेको बताए।
महंगो खर्च लाग्ने भएकाले सहयोगीहरुको सहयोगबाटै नै उनको जीवन बचाउन सकिने उनले बताए।
मंसिर १६, २०७७ मंगलबार १७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।