एचआइभीबाट ३५ जनाले ज्यान गुमाए

धनगढी : कैलालीमा एक वर्षको अवधिमा ३५ जना एचआइभी संक्रमितको ज्यान गएको छ।
कैलालीबाट एआरटी खाँदै आएकामध्ये ३५ जनाले गत आर्थिक वर्षमा ज्यान गुमाएका हुन। जसमध्ये ६ जना सोही आर्थिक वर्षमा फेला परेका नयाँ संक्रमित हुन।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार एक वर्षको अवधिमा नयाँ १ सय ५२ संक्रमित भेटिएका छन्।
जिल्लामा एचआइभी एड्स सक्रमितको संख्या वर्षेनी बढिरहेको पाइएको छ। गत वर्षबाट संक्रमितको संख्या बढ्न थालेको हो।
गत आर्थिक वर्षमा ६ हजार ११३ जनाको स्वास्थ्य परीक्षण गर्दा १५२ जना नयाँ संक्रमित फेला परेका हुन्।
संक्रमण पुष्टि भएका नयाँ संक्रमितमा वयस्क पुरुष ५५, वयस्क महिला ५५, समलिङ्गि ३८, बालबालिका चार जना रहेका छन्।
नयाँ संक्रमण पुष्टि भएका उनीहरू विभिन्न जिल्लाका रहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
सो कार्यालयका अनुसार फेला परेका नयाँ संक्रमितमा कैलालीका ११०, कञ्चनपुरका २५, बैतडीका तीन, बर्दियाका चार, डोटीका, बझाङ, अछाम र डडेलधुराका दुई-दुई, दार्चुला र भारतका एक-एक जना रहेका छन्।
चालु आर्थिक वर्षको कार्तिक मसान्त सम्म ३४ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा रहेका एचआइभी एड्स संक्रमित नेपाली नागरिकहरू पनि स्वदेश फर्किए सँगै सक्रमितको संख्या बढेको सेती प्रादेशिक अस्पताल एचआइभी एड्स विभाग प्रमुख लोकराज पनेरुले बताए।
जनचेतना फैलाउन सकियो भन्ने सक्रमितको संख्यामा कमी आउने उनले बताए।
एचआइभी एड्स सरुवा रोग भएको हुँदा यसको संक्रमण दर फैलिरहेको चिकित्सकहरूको भनाइ छ।
एचआइभी एड्सका कारण शरिकका विभिन्न अंगहरूमा समस्या देखिन थाल्ने सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए।
उनले भने,‘यो रोग भाइरस हो। यो रोगलाई निर्मुल पार्नलाई अहिले सम्म औषधी पता लाग्न सकेको छैन्।’
मुलुक भित्रै रोजगारीको सिर्जना हुन नसक्दा सम्म यसको संक्रमणमा कमी नआउने उनले बताए।
विगतमा सेती प्रादेशिक अस्पतालमा मात्रै एचआइभी परीक्षण हुने गरेको थियो। अहिले जिल्लाको मालाखेती र टिकापुरमा पनि परीक्षण भैरहेको छ।
परीक्षणको दायरा बढेकाले एचआइभी संक्रमितको संख्या पनि बढेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए।
प्रदेशका बासिन्दाहरू आर्थिकरुपमा अगाडि नबढ्दासम्म एचआइभी एड्स सक्रमितको संख्यामा कमी नआउने उनले बताए। अहिले समुदायस्तरमै गएर एचआइभी एड्सको परीक्षण हुँदा संख्या बढेको उनको भनाइ छ।
कैलालीमा आर्थिक वर्ष २०७३-०७४ मा १२५ जना संक्रमित रहेकोमा २०७४-०७५ मा घटेर ११५ जना थिए। त्यसपछि अझै घटेर २०७५÷०७६मा १०७ पुगेको थियो।
मंसिर १६, २०७७ मंगलबार १५:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।