चक्कु प्रहार गरी छिमेकीको हत्या

जनकपुरधाम : चक्कु प्रहार गरी रौतहटमा एक युवकको हत्या भएको छ। छिमेकीले गरेको चक्कु प्रहारबाट गम्भिर घाइते भएका रौतहट वृन्दावन नगरपालिका–३ का १८ वर्षीय नन्दकिशोर रामको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार छिमेकी १९ वर्षीय रवि रामको चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनको एपोलो अस्पताल चन्द्रपुरमा मृत्यु भएको छ।
सोमबार बेलुकी आफ्नी काकी ललिता देवीलाई छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी गालीगलौज गरेकोमा नन्दकिशोरले पनि लाले रामकै पक्ष लिएको भन्दै विवाद भएको थियो।
विवाद शान्त भएको केही समयपछि रविले भान्छाको चक्कु लगेर नन्दकिशोरको पेटमा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले गएराति नै चक्कु प्रहार गर्ने रविलाई नियन्त्रणमा लिएको छ। घटनास्थलबाट चक्कु बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मंसिर १६, २०७७ मंगलबार १२:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।