हराईरहेका बालक मृत फेला, हत्याको आरोपमा १ जना पक्राउ

विराटनगर : सुनसरीको दुहवी नगरपालिका–२ का १७ वर्षिय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन्।
मंसिर १० गते देखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा प्रहरीले मृत अवस्थामा उनको शव फेला पारेको प्रहरीले जनाएको छ
खोजतलासको क्रममा सोमबार बिहान ५ बजे दुहवी नगरपालिका–२ स्थित अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टीको खालि जग्गाको घारीमा चौधरीको शव फेला पारिएको हो।
बालक हराएको भनी ईलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्र समेत गरी खोजतलास तथा घटनाको बारेमा अनुसन्धान शुरु गरेको प्रदेश प्रहरी कर्यालय विराटनगरले जनाएको छ।
प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिका–२ का २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिईएका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफुले कर्तव्य गरी मारेको र शवलाई घारीमा फालेको भन्ने बयान दिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले चौधरीलाई मृत फेला पारेको हो। शव फेला परेपछि थप अनुसन्धान भईरहेको र घटनामा संग्लग्न रहेको आशंकामा अन्य २ जनालाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ।
साथै मृतक चौधरीको शव परीक्षणको लागि वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
मंसिर १५, २०७७ सोमबार १७:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।