मापदण्ड विपरित क्रसर उद्योग संचालन 

मापदण्ड विपरित क्रसर उद्योग संचालन 

धनगढी : कैलालीमा केही क्रसर उद्योगहरु मापदण्ड विपरित संचालन भएको पाइएको छ। 
 

जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको अनुुगमनमा जिल्ला चार वटा क्रसर उद्योगहरु मापदण्ड विपरित सञ्चालनमा रहेको भेटिएको हो।

पूर्वपश्चिम राजमार्ग भन्दा ५ सय मिटर टाढा उद्योग सञ्चालन गर्नुपर्ने मापदण्ड भएपनि अहिले अधिकांश उद्योगहरुले त्यो मापण्ड पुरा नगरेको प्रशासनले जनाएको छ। 

उद्योगबाट हुने प्रदुषण नियन्त्रण गर्न घेरबार गर्नुपर्ने भएपनि त्यो नगरिएको पाइएको छ।

दर्ता गर्ने बेला मापदण्ड अनुसार देखाइए पनि संचालन गर्दा मापदण्ड पुरा नगरेको पाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए।

उनले भने,‘क्रसर उद्योगले नयाँ मापदण्ड अनुसार ‘बालुवा पाँगो धुने र प्रशोधन गर्ने मेसीन (फिरफिरे) तथा ढुङ्गा प्रशोधन उद्योग स्थापना गर्दा साईड ड्रेन, हिलो थिग्रेन पोखरी, फोहोर पानी प्रशोधनको व्यवस्था र वायु प्रदुषण नियन्त्रणको लागि समेत आवश्यक व्यवस्थापन गर्नुपर्ने छ।’

क्रसर उद्योगहरूले वरिपरि बोटविरुवा पनि रोप्नुपर्ने व्यवस्था मापदण्डमा छ। तर, कैलालीमा हाल सञ्चालनमा रहेका अधिकांश क्रसर उद्योगले यी मापदण्ड नअपनाएको पाइएको चौधरीले बताए।

जिल्ला प्रशासन कार्यालयका अनुसार ओएटन क्रसर उद्योग गोदवारी नगरपालिका– ७, हेमकुन्ट क्रसर उद्योग गोदवारी–९, श्रीपुर कंक्रिट उद्योग गोदवारी–७ र कर्णाली क्रसर उद्योग जानकी गाउपालिका–५ ले मापदण्डा पुरा गरेका छैनन्।

जिल्लामा क्रसर उद्योगहरुको विवरण सहितको प्रतिवेदन गृह मन्त्रालयमा पठाइएको चौधरीले जानकारी दिए।

‘गृह मन्त्रालयले कुन उद्देश्यले तथ्यांक मागेको हो थाहा भएन,तर हामीले यहाँको क्रसर उद्योगको यथार्थ विवरण पठाएका छौं’ चौधरीले भने।

गृह मन्त्रालयले देशभरका क्रसर उद्योगको अनुगमन गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएकोमा जिल्ला प्रशासन कार्यालय, कैलालीले क्रसर उद्योगहरूको निरीक्षण अनुगमन गरेर प्रतिवेदन पठाएको हो।

घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा हाल सम्म १२ वटा नदीजन्य प्रदार्थका उद्योगहरु दर्ता भएका छन्।

जसमध्य हाल ६ वटा उद्योगहरु संचालनमा आएको कार्यालयले जनाएको छ। २ वटा बालुवा प्रसोधन केन्द्र र ४ वटा क्रसर उद्योगहरु संचालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नवराज भट्टले जानकारी दिए। संचालनमा आएका उद्योगहरु सबैले मापदण्ड पुरा नगरेको उनले बताए। 

नयाँ मापदण्ड अनुसार रुपान्तरण गर्न एक वर्षको म्याद दिइएको भए पनि नयाँ मापदण्ड अनुसार नयाँ उद्योग दर्ता नभएको उनले बताए। 
‘पुराना दर्ता भएका उद्योगहरूले पनि मापदण्ड अनुसार परिमार्जन हुन एक वर्षको समय छ’,उनले भने,‘मापदण्ड अपनाउन नसके बन्द गर्नुपर्ने हुन्छ।’

हेमकुन्ट क्रसर उद्योगका सञ्चालक लक्ष्मण साउँदले आफूहरुले बाहिर बेच्न नभएर  सरकारका पूर्वाधारका योजना निर्माणका लागि मात्रै काम गर्ने भएकाले सरकारले बन्द गर्न भन्छ भने बन्द गने बताए।
 

मंसिर १५, २०७७ सोमबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।