कान्छीले यसरी रचिन चोरीको नाटक

कान्छीले यसरी रचिन चोरीको नाटक

ललितपुर : आइतबार दिउँसो २ बजेतिर महानगरीय प्रहरी वृत्त सातदोबाटोको कन्ट्रोल रुममा चोरी भएको भन्ने मौखिक उजुरी आयो। 

उक्त उजुरी महालक्ष्मी नगरपालिका–१ स्थित सानु कान्छा पोडेको घरमा नगदसहित गरगहना चोरीको थियो।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनका अनुसार उजुरीमा २६ लाख नगद, २ तोला सुनको सिक्री १ थान, १ तोला सुनको सिक्री १ थान, २ तोला हातमा लगाउने बाला १ थान, आधा तोला सुनको १ जोर कानमा लगाउने झुम्का, ५ तोला चाँदीको पाउजु १ जोर र २० तोला चाँदीको मन्दिर चोरी भएको भनिएको थियो।

लगत्तै सातदोबाटो बृत्तका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) मित्रबन्धु शर्माको कमाण्डमा प्रहरी टोली घटनास्थल पुग्यो। 

‘ढोका र दराज फोडिएको र सामानहरु छरपस्ट अवस्थामा थिए। घटनास्थल हेर्दा चोरी भएकोमा शंका गर्ने ठाँउ देखिएन।’ डिएसपी शर्माले घटनास्थलको अवस्थाबारे भने। प्रहरीले तत्कालै घटनास्थल सिल गरी सुक्ष्म रुपमा अनुसन्धान थाल्यो। 

प्रहरी घटनास्थलमा रहकै समयमा घरधनी सानु कान्छा पोडेको श्रीमती कान्छी पोडेल आईपुगिन्। त्यस समय उनी घरायसी विवादका कारण घरकै सदस्यबिरुद्ध महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिन गएकी थिईन। 

सोही समयमा घरमा आईपुगेका कान्छा छोरा र छिमेकीले चोरी भएको देखेपछि प्रहरीमा खवर आएको गरेको प्रहरीको भनाइ छ। 

कान्छीले गरगहना र नगदका साथै लालपुर्जा र पेन्सनपट्टा पनि हराएको प्रहरीलाई बताइन्। उनको अस्वभाविक हाउभाउ नै प्रहरीलाई ‘क्लू’ बन्न पुग्यो’ डिएसपी शर्माले भने,‘कसैलाई खटाएर आफू बाहिर भएको अवस्थामा चोरी भएको देखाँउन खोजेको आशंका गरेर अनुसन्धान थाल्दा अन्तत : सम्पत्ति हत्याउन आफैले धनमाल लुकाएर चोरीको नाटक रचेको खुलेको छ।’ 

डिएसपी शर्माका अनुसार प्रहरीले घरमा खानतलासी गर्दा चोरी भएको भनिएको नगद र गरगहनासहितका सामानहरु घरकै माथिल्लो तल्लामा रहेको पूजा कोठामा लुकाएको अवस्थामा फेलापरेका छन्।

‘नगद र गरगहना कान्छी पोडेले पूजा कोठामा रहेको स्टिलको दराजको सेफ भित्र लुकाएको अवस्थामा भेटियो’ शर्माले भने, ‘कान्छीले धनमाल आफैले लुकाएको स्वीकार पनि गरिन्।’

उनले धनमाल लुकाउने कार्यमा संलग्न अन्य व्यक्तिबारे खुलाएकी छैनन्। प्रारम्भिक अनुसन्धानले घरायसी विवादका कारण चोरीको नाटक रचिएको खुलेको प्रहरीले जनाएको छ। 

प्रहरीले कान्छीलाई पक्राउ गरी चोरीको झुठो अफवाह फैलाएको अभियोगमा अनुसन्धान थालेको जनाएको छ। 
 

मंसिर १५, २०७७ सोमबार १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।