सेयर बजारमा उछाल, कीर्तिमानमाथि कीर्तिमान

लगानीकर्ता अति उत्साहित हुँदा बजार तीव्र गतिले उकालो लागेको हो। त्यसमाथि प्राविधिक विश्लेषक र केही पुराना लगानीकर्ताको भनाइलाई आधार मानेर नेप्से यति पुग्छ र उति पुग्छ भन्ने हल्ला बजारमा चलेपछि उकालो लाग्ने गति तीव्र बनेको हो।
साताको पहिलो दिन आइतबार ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार तीन सय ४८ रुपैयाँको सेयर कारोबार भएको छ। एकै दिन यति धेरै कारोबार भएको नेपालको सेयर बजारमा यो पहिलोपटक हो।
यसअघि बिहीबार पनि त्यसअघिको सबैभन्दा बढी दैनिक कारोबारको रेकर्ड बनेको थियो। बिहीबारको रेकर्ड आइतबार तोडिएको हो।
कुनै बेला नेपालको सेयर बजारमा मुस्किलले दुई करोडको सेयर किनबेच हुन्थ्यो। आइतबार भने खरिदबिक्री भएका सेयर कित्ताको संख्या नै दुई करोड ५९ लाख ४५ हजार तीन सय ८० छ।
आइतबार कारोबार रकममात्र नभएर सेयर बजार परिसूचक नेप्से पनि ७५.०२ विन्दुले बढेको छ। नेप्सेले गत साता नै पुरानो सबैभन्दा उच्च विन्दुलाई तोडेको थियो।
आइतबार झन्डै ४ प्रतिशतले बढेर नेप्से १९६८.२७ विन्दुमा पुगेको छ। यसअघि सुस्त गतिमा रहेको बैंक तथा वित्त समूहमा खरिद चाप पर्दा नेप्सेमा चर्को वृद्धि देखिएको छ। सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको हिस्सा ७० प्रतिशतभन्दा बढी छ।
आइतबार बैंकिङ समूहको सूचक ११२.३२ विन्दुले बढेको छ। त्यस्तै विकास बैंक समूह १७३.८४ र वित्त समूह १२.२७ विन्दुले उकालो लागेका छन्।
लघुवित्त समूह पनि २७.७५ विन्दुले उकालो लागेको छ। जीवन बीमा समूह २४५.७५ र जलविद्युत् समूह २६.६६ विन्दुले बढेका छन्।
व्यापार, होटल्स, निर्जीवन बिमा र उत्पादनमूलक समूह भने बढ्दो बजारमा पनि ओरालो लागेका छन्। म्युचुअल फन्ड र अन्य समूह झिनो विन्दुले हरियो छन् ।
किन बढ्दैछ सेयर बजार ?
यतिबेला सेयर बजार बढ्नुमा विभिन्न तत्वले काम गरिरहेको विश्लेषकहरु बताउँछन्। गत मध्य फागुनमा १६६७ सम्म पुगेको नेप्से त्यसपछि ओरालो लागेको थियो।
कोभिडको महामारी सुरु भएपछि बजार तीव्र गतिले ओरालो लागेर मध्य जेठमा नेप्से ११४९ सम्म आइपुगेको थियो। त्यस बीचमा लकडाउनका कारण झन्डै तीन महिना सेयर बजार पनि बन्दा रह्यो।
लकडाउनपछि खुलेको बजार बिस्तारै सम्हालिएर उकालो लाग्न सुरु गरेको थियो। नेप्सेको यो वृद्धि अझै पनि जारी छ र यतिबेला सेयर बजारको इतिहासमै ‘अल टाइम हाई’ को रेकर्ड बनाएको छ।
सुरुमा लगानीका क्षेत्र खुम्चिँदा सेयर बजारमात्र लगानीका लागि भरपर्दो विकल्प देखियो। सेयर बजारमा गरिएको लगानी तरल प्रकृतिको हुन्छ।
चाहिएका बेला तुरुन्त सेयर बेचेर नगदमा परिणत गर्न सकिन्छ। यसै कारण अन्य क्षेत्रका लगानीकर्ताले पनि सेयर बजारमा लगानी गरे।
यसबाट नेप्सेमा क्रमिक वृद्धि देखिन थाल्यो। यसबाट अरु लगानीकर्ता पनि आकर्षित हुँदा सेयर बजारमा माग सिर्जना भयो। बैंकले सस्तो ब्याजदरमा ऋण दिएपछि त्यो पैसा पनि सेयर बजारमै आयो।
सूचीकृत संस्थाबाट पाइने लाभांश वितरणको समय नजिकिएकाले पनि बजारमा ऊर्जा थपियो। त्यसमाथि राष्ट्रबैंकले सम्भावित आर्थिक संकटलाई ध्यान दिँदै बैंक तथा वित्तीय संस्थालाई नगद लाभांशभन्दा बोनस सेयर वितरणमा जोड दिन निर्देशन दियो।
राष्ट्र बैंकले कुल वितरित लाभांशमा नगदको हिस्सा तीन प्रतिशतभन्दा बढी हुन नपाउने नियम बनाइदियो। नेपालको सेयर बजार बोनस र हकप्रद सेयरबाट बढी नै प्रभावित हुने गरेको छ।
पछिल्लो समय भने विभिन्न थरीका हल्लाका कारण पनि बजार बढ्न पुगेको छ। केही पुराना लगानीकर्ताले बजार अझै बढ्छ, ऋण लिएर भए पनि लगानी गर्नुहोस् भन्ने जस्ता अभिव्यक्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
आफूलाई प्राविधिक विश्लेषक बताउनेहरुले पनि बजार अझै बढ्ने र यति विन्दुमा पुग्ने भन्दै भविष्यवाणी गरेका छन्। सेयर बजारमा इन्डेक्स यति र उति पुग्छ भन्दै भविष्यवाणी गर्न नपाइने भए पनि फितलो नियमनको फाइदा उठाउँदै बजारमा खेल्ने समूह सक्रिय छ।
यसले सर्वसाधारणको लगानी फस्न सक्ने सम्भावना पनि उत्तिकै छ।
मंसिर १४, २०७७ आइतबार १७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।