डमी ट्राफिकको घटुवा !

काठमाडौं : आँखामा कालो चस्मा। शरीरमा हवल्दारको दर्ज्यानी चिह्न सहितको ट्राफिक पोशाक। हातमा ट्राफिक नियम सिकाउने बोर्ड। मुहारमा कोरोना कालको झल्को दिने मास्क ! जाडो बढेसँगै थपिएको छ ट्राफिक ज्याकेट पनि।
यो हुलिया उपत्यकाका मुख्य चोकमा राखिएका डमी ट्राफिक प्रहरीको हो। यस्ता डमी उपत्यकाका ५० स्थानमा राखिएका छन्।
हवल्दारको दर्ज्यानी चिह्न भएको पोशाक लगाइएको डमी।
प्रहरी नियम अनुसार जाडोमा (मंसिर १ गतेबाट) प्रहरीको पोशाकमा ज्याकेट वा स्विटर थपिन्छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि मंसिर सुरुवातमै आफ्ना कर्मचारीहरूलाई ज्याकेट वितरण गर्याे। त्यसपछि ड्युटीमा खटिने प्रहरीहरू ज्याकेटसहित सडकमा देखिन थाले।
डमीलाई पनि ज्याकेट लगाइयो। तर, दर्ज्यानी चिह्न लगाउँदा डमीको एक तह घटुवा गरियो। अर्थात् यसअघि हवल्दारको पोशाकमा रहेका डमीलाई सिपाहीको पोशाक लगाइयो।
ललितपुरको जाउलाखेलमा सिपाहीको दर्ज्यानी चिह्न भएको पोशाक लगाइएको डमी।
यसैको उहाहरण हो– जावलाखेलको मुख्य चोकमा राखिएको डमी ट्राफिक।
अन्य स्थानमा राखिएका डमीको ज्याकेटमा पनि सिपाहीको दर्ज्यानी चिह्न देखिन्छ।
महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादव उपत्यकामा राखिएका सबै (५० स्थानमा) डमीलाई सुरुमा हवल्दारको दज्र्यानी चिह्न भएको पोशाक लगाइदिएको बताउँछन्। ‘अहिले डमीलाई ज्याकेट लगाउँदा केही स्थानमा हवल्दारको दज्र्यानी चिह्न राख्न छुटेको हुनसक्छ। हामी बुझ्दैछौं।’ उनी भन्छन्।
पुरुषलाई महिला बनाउँदा
सडकमा ट्राफिकको उपस्थिति देखाउन र भदौ १९ बाट काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्ता डमी राख्न थालेको हो। तर, प्रहरीले डमी अभियानको सुरुवातदेखि नै विवादित बन्न पुगेको थियो।
यसरी राखिएका डमीमा पुरुषको मात्र रूप दिइएपछि महिला अधिकारवादी र सर्वसाधारणको आलोचना गरे। आलोचना सुरु भएपछि महाशाखाले आइडिया फुरायो– डमीको पछाडि जुरो थपेर महिला बनाउने। तर, जुरो मात्र थप्दैमा कसरी पुरुषको आकृति महिलाको जस्तो बन्न सक्थ्यो र !
ट्राफिकको यो जुक्ति सर्वसाधारणका लागि हास्यास्पद बन्न पुग्यो। महाशाखाका अनुसार ५० मध्ये २० डमीलाई महिलाको आकृति दिइएको छ।
सांगीतिक डमीमा पनि समेटिएनन् महिला
महाशाखाले पछिल्लो समय स्टेजसहित विभिन्न कलाकारको आवाजमा डमीलाई प्रस्तुत गरिररहेको छ। यसमा पनि महिलाको आकृति समेटिएको छैन। यसमा पनि पुरुष मात्रको आकृति रहेको महाशाखाले जनाएको छ।
यस्ता ५ डमीलाई उपत्यकाका भिडभाड हुने स्थानमा राखेर सचेतना सामग्री बजाउने गरिएको छ।
मंसिर १२, २०७७ शुक्रबार १४:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।