६ दिनमा तोलामा तीन हजार घट्यो सुनको भाउ

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घट्ने क्रममा छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो ६ दिनयता सुनको मूल्य तोलामा तीन हजार रूपैयाँ घटिसकेको छ।
गत आइतबार प्रतितोला ९४ हजार ३०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज (शुक्रबार) ९१ हजार ३०० रूपैयाँ निर्धारण गरिएको छ।
तेजाबी सुनको मूल्य पनि सोही दरमा घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० निर्धारण गरिएको थियो। आज त्यसको मूल्य प्रतितोला ९० हजार ८०० रूपैयाँ तोकिएको छ।
चाँदीको मूल्य पनि घट्दो क्रममा छ। यही मंसिर ३ गते प्रतितोला एक हजार २३० रूपैयाँमा किनबेच भएको चाँदी आज एक हजार १६५ रूपैयाँ कायम गरिएको छ।
कोरोना भाइरस (कोभिड–१९) खोपको प्रभावकारितासँगै सुनको मूल्य घट्न थालेको बताइएको छ।
सुनको अन्तर्राष्ट्रिय मूल्य मापन गर्ने गोल्ड प्राइस डट ओआरजीका अनुसार पछिल्लो ३० दिनमा सुनको अन्तर्राष्ट्रिय मूल्य प्रतिऔंश ५६.९० डलरले घटेको छ।
मंसिर १२, २०७७ शुक्रबार १३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।