बालिका हत्या प्रकरण : प्रदर्शन रोक्न सर्वपक्षिय बैठक जारी

इलाका प्रहरी कार्यालय बर्दिवासमा सुरक्षा प्रमुखसहित सर्वदलीय बैठक बसिरहेको छ।
महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्यापछि तथा प्रहरीको गोली लागेर स्थानीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएपछि स्थितिलाई कसरी सहज बनाउने भनेर महोत्तरीका सुरक्षा प्रमुख तथा जनप्रतिनिधिहरूबीच बैठकमा छलफल भैरहेको बुझिएको छ।
बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रहरी प्रमुख टीकाबहादुर केसी, प्रहरी नायब उपरीक्षक राजन चापागाईं, बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्की, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्।
बालिकाको हत्यापछि न्याय दिलाउनका लागि भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर सञ्जय न्यौपानेको मृत्यु भएको छ।
मृतकलाई शहीद घोषणा, मृतकको परिवारलाई क्षतिपूर्ति, परिवारको भरणपोशणसहित सरकारी जागिरको सुनिश्चितता हुनुपर्नेलगायतका
माग राख्दै स्थानीयले निषेधाज्ञाकाबीच बिहानै देखि प्रदर्शनकारीहरूले प्रदर्शन गर्दै आएका छन्।
पूर्व–पश्चिम राजमार्ग तथा वीपी राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध गरिएको छ।
प्रदर्शनकारीले दिउँसो बर्दिबास बजारमा प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीको पुत्लासमेत जलाएका छन्।
प्रदर्शनकारीहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने बजार व्यवसाय पूर्णरुपमा ठप्प रहेको छ। यातायात ठप्प हुँदा यात्रुहरु समस्यामा परेका छन्।
मंसिर १०, २०७७ बुधबार १५:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।