निषेधाज्ञाबीच बर्दिबासमा प्रदर्शन जारी

निषेधाज्ञाबीच बर्दिबासमा प्रदर्शन जारी
तस्विर सौजन्य : राजकरण महत्तो

जनकपुरधाम : बर्दिबासमा जारी निषेधाज्ञाबीच स्थानीयले प्रदर्शन जारी राखेका छन्।

बालिका बलात्कार तथा हत्या विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि बर्दिबासमा पुनः आन्दोलन सुरु भएको हो।

बुधबार बिहानैदेखि स्थानीयले बजार र पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन्।

बर्दिबासमा तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

बुधबार बिहानै बर्दिबास सेवा समितिमा बसेको राजनीतिकर्मी, व्यापारी र स्थानीयहरुको सर्वपक्षिय छलफलबाट १३ सदस्यीय आन्दोलन व्यवस्थापन समितिसमेत गठन गरिएको छ।

समितिले प्रहरीको गोली लागेर मृत्यु भएका बर्दिबास नगरपालिका–१ का संजय न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपुर्ति दिनु पर्ने, गोली चलाउने दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने, बलात्कारीलाई कडा कारबाही गर्नुपर्ने लगायतको माग राखेका छन्।

बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कार पश्चात हत्याको विरोधमा मंगलबार दिउँसो प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा संजय न्यौपानेसहित तीनजना घाइते भएका थिए। 

संजयको उपचारको क्रममा काठमाडौंस्थित ग्राण्डी हस्पिटलमा उपचारको क्रममा मंगरबार राति मृत्यु भएको छ।

बर्दिबासमा किराना पसल संचालन गरेका न्यौपाने बर्दिबास सेवा समितिका सदस्य समेत थिए। 

मंसिर १०, २०७७ बुधबार १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।