नगर प्रमुख घिमिरेसहित ११ जनाले गरे प्लाज्मा दान

भैरहवा : कोरोना भाइरस संक्रमणमुक्त भएका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेसहित ११ जनाले प्लाज्मा दान गरेका छन्।
मंगलबार नगरपालिकामा आयोजना गरिएको रक्तदान कार्यक्रममा उनीहरुले प्लाज्मा दान गरेका हुन्।
‘हाम्रो सानो सहयोगले कुनै संक्रमितको ज्यान बचोस् भन्ने चाहना हो’, घिमिरेले भने,‘कार्यक्रममा उपप्रमुख जागेश्वरीदेवी चौधरीसहित १३ जनाले भने नियमित रक्तादान गरेका थिए।
जटिल प्रकारका संक्रमितको संख्या बढ्दैगएपछि उनीहरुको प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
कोरोना भाइरस संक्रमित कयौं व्यक्ति उक्त विधिबाट उपचार गराई निको भएपछि यो विधिबाट उपचार गर्न देशका विभिन्न अस्पताललाई सरकारले अनुमती दिएको छ।
निको भएकाहरुको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरु बिरामीमा प्रयोग गरिने चिकित्सकहरु बताउँछन्।
‘प्लाज्मा थेरापी विधि धेरै ठाउँ सफल भएको छ। मृत्युको मुखमा पुगेका धेरैले पुनर्जीवन पाउनु भएको छ। यो विधि थप प्रभावकारी होस् र संक्रमित भएर निको भएकाहरुमा पनि प्लाज्मा दान गर्नुपर्छ भन्ने सन्देश प्रवाह होस् भनेर हामीले प्लाज्मा दान गरेका हौं’, नगरप्रमुख घिमिरेले भने।
नगरपालिकामा हालसम्म कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाइसकेका छन्।
मंसिर ९, २०७७ मंगलबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।