अपीको वार्षिक साधारणसभा, १४ प्रतिशत बोनस सेयर प्रस्ताव पारित

काठमाडौं : अपी पावर कम्पनी लिमिटेडले सोमबार भर्चुअल माध्यमबाट दुई वटा वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
कम्पनीले १६ औं र १७ औं वार्षिक साधारणसभा एकै पटक सम्पन्न गरेको हो। १६ औं वार्षिक साधारणसभा कोरोना भाइरस (कोभिड १९) संक्रमण महामारीका कारण स्थगित गरिएको थियो।
साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/०७६ को खुद मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत दरले र आर्थिक वर्ष २०७६÷०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसैगरी साधारणसभाले नयाँ चुक्ता पुँजीको १ः०.८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ।
साधारणसभामा कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले वार्षिक प्रतिवेदन र कम्पनीका वित्तीय व्यवस्थापन प्रमुख शास्वत चालिसेले कम्पनीको वित्तीय विवरण प्रस्तुत गरेका थिए। त्यसैगरी कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौैपानेले कम्पनीको विस्तृत विवरण प्रस्तुत गरेका थिए।
साधारणसभामा सेयरधनीहरूले राखेका जिज्ञासाको अध्यक्ष गुरूप्रसाद न्यौपानेले जवाफ दिएका थिए। उनले सेयरधनीका सुझावलाई कम्पनीले सधैं शिरोधार्य गर्ने बताए।
नयाँ सञ्चालक समिति चयन
अपीको साधारणसभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको समेत चयन गरेको छ, जसमा सतिष न्यौपाने, सञ्जिव न्यौपाने, द्वारिकाप्रसाद न्यौपाने, इन्द्रमणि त्रिताल र सृजना खड्का छन्।
चुक्ता पुँजी वृद्धि
अपी पावरले भर्खरै हकप्रद सेयर निष्कासन गरेर चुक्ता पुँजी वृद्धि गरेको छ। कम्पनीले कात्तिक १४ गतेयता ५६ करोड ७० लाख रूपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो।
अपीले ८.५ मेगावाटको नौगढ सानो जलविद्युत आयोजनाबाट व्यावसायिक रूपमा विद्युत उत्पादन गरिरहेको छ भने दार्चुलामा ८ मेगावाटको अपर नौगढ गढ जलविद्युत आयोजना निर्माण पूरा गरिसकेको छ। कम्पनीका ४० मेगावाटको अपर चमेलिया र ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार निर्माणका क्रममा छन्।
कम्पनीले विद्युत प्राधिकरणसँग ती आयोजनाबाट उत्पादित बिद्युत खरिद–बिक्री सम्झौता (पिपिए) गरिसकेको छ। हकप्रदबाट जुटाएको रकम कम्पनीले अपर चमेलिया आयोजना निर्माणमा खर्च गर्ने छ।
अपी पावरको नाफामा पनि उल्लेख्य सुधार भएको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १० करोड ६४ लाख १ हजार रूपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
कम्पनीले गत वर्ष सोही अवधिमा ३ करोड ५९ लाख ५१ हजार रूपैयाँ मात्र नाफा कमाएको थियो। अपीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा आकर्षक वृद्धि भएसँगै गत वर्षको तुलनामा यो वर्षको त्रैमासिकसम्म १९५.९६ प्रतिशतले नाफा बढी कमाउन सफल भएको हो।
विद्युत बिक्रीबाट आम्दानी ६ करोड ३८ लाख ५७ हजार रूपैयाँबाट बढाएर १४ करोड १२ लाख ५७ हजार रूपैयाँ पुर्याएको छ। यस्तै, अन्य स्रोतबाट पनि आम्दानीमा उल्लेख्य वृद्धि भएको छ।
गत वर्ष अन्य स्रोतबाट २ लाख ९ हजा रूपैयाँ मात्र आम्दानी गरेकामा यस वर्ष ६ करोड १७ लाख ७० हजार रूपैयाँ पुगेको छ। असोज मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १२ रूपैयाँ ८ पैसाबाट बढेर ३५ रूपैयाँ ७४ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ पनि १०९ रूपैयाँ ८२ पैसाबाट बढेर १२४ रूपैयाँ ३० पैसा कायम भएको छ।
हाल अपीको चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रूपैयाँ छ। कम्पनीले वितरण गर्ने बोनस सेयर र हकप्रदबाट जुटाइएको रकमसमेत गरेर कम्पनीको चुक्ता पुँजी १ अर्व ९२ करोड ९८ लाख पुग्ने छ।
मंसिर ९, २०७७ मंगलबार १५:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।