भारतबाट पेन्सन बुझेर फर्किएका ५ जनाको जिप दुर्घटनामा परि ज्यान गयो

भारतबाट पेन्सन बुझेर फर्किएका ५ जनाको जिप दुर्घटनामा परि ज्यान गयो

काठमाडौं : बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

झुलाघाटबाट गोठलापानी जाँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा आज दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा सुर्नया गाउँपालिका-४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका-४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका-५ बस्कोटका ७० वर्षीया पार्वतीदेवी चन्द,सोही ठाउँका ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका-२ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार  दुर्घटनामा परी ४ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ। 

तिव्र गतिमा रहेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। जिप सडकबाट करिव एक सय मिटर तल खसेको छ।

जिपका चालक गोपाल कार्की फरार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुने सबै भारतबाट पेन्सन बुझेर आउँदै गरेका बुझिएको प्रहरीले जनाएको छ।

कोरोना महामारीका कारण गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबार सम्मका लागि झुलाघाट नाका खोलिएको छ।

मंसिर ९, २०७७ मंगलबार १५:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।