बालिका हत्या प्रकरण :  प्रहरीको गोली लागी ३ प्रदर्शनकारी घाइते

बालिका हत्या प्रकरण :  प्रहरीको गोली लागी ३ प्रदर्शनकारी घाइते

जनकपुरधाम : महोत्तरीमा ६ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको बिरोधमा स्थिती नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ। 

प्रहरीको गोली लागी तीन जना प्रदर्शनकारी घाइते भएका छन्।

बर्दिवास नगरपालिका–१४ मा स्थानीयले शव सडकमा राखेर राजमार्ग अवरुद्ध गरेका छन्। 

राजमार्ग अवरुद्ध हटाउन खोज्दा प्रहरीको गोली प्रहार गरेको हो। गोली लागेर स्थानीय सञ्जय न्यौपाने श्याम कार्की र अफताब आलम घाइते भएको बताइएको छ। घाइतेमध्ये सञ्जयको थप उपचारका लागि स्थानीय अस्पतालले काठमाडौं रिफर गरेको छ।

बर्दिवास–१४ का सहिद अन्सारीकी ६ वर्षीया छोरी गुलबसा खातुनको सोमबार राति बोरामा राखेर फालिएको अवस्थामा शव भेटिएको थियो।

प्रदर्शनकारीले दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग राखेका छन्। प्रदर्शनकै कारण पूर्वपश्चिम राजमार्ग र वीपी राजमार्गको उक्त खण्ड बिहानैदेखि अवरुद्ध छ। 

गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ।

टायर बालेर नाराबाजी गरिरहेका स्थानीयले पक्राउ परेका साहको घरमा आगजनीसमेत गरेका छन्। 

प्रदर्शन नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले २२ सेल अश्रुग्याससमेत प्रहार गरेको छ। अहिले सडकमा सशस्त्र, नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।

मंसिर ९, २०७७ मंगलबार १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।