उद्योग वाणिज्य महासंघ चुनाव : कसको एजेन्डा के ?

काठमाडौं : निजी क्षेत्रका उद्यमी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्न प्रतिस्पर्धामा रहेका उम्मेदवार यतिबेला प्रचारप्रसारको अन्तिम दौडमा छन्।
खासगरी वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान आ-आफ्नो विजय निश्चित बनाउन मतदाता प्रतिनिधिसँगको भेटघाटमा व्यस्त छन्। उनीहरु दुवैले आ-आफ्नो विजय निश्चित भएको दाबी गर्दै आएका छन्। परिणाम कसको पक्षमा आउला, यो थाहा पाउन भने मतदान र त्यसको अन्तिम परिणाम नै कुर्नुपर्ने हुन्छ।
महासंघको ५४ औं वार्षिक साधारणसभा बुधबार सुरु हुँदैछ। बिहीबार बन्द सत्र र शुक्रबार मतदान हुने कार्यतालिका सार्वजनिक भइसकेको छ। पूर्वनिर्धारित तालिकामा आकस्मिकरुपमा कुनै परिवर्तन नभएमा शनिबार साँझसम्ममा मत परिणाम पनि सार्वजनिक भइसक्ने अपेक्षा गर्न सकिन्छ।
अन्य संघ संगठनमा अध्यक्ष अथवा सभापतिको चुनावले बढी महत्त्व पाउने गरे पनि उद्योग वाणिज्य महासंघमा भने वरिष्ठ उपाध्यक्षको निर्वाचनले महत्त्व पाउने गरेको छ। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था छ। यसैकारण एकपटक वरिष्ठ उपाध्यक्ष निर्वाचित हुन सकेमा तीन वर्षपछिको अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन पाइन्छ। त्यसैले वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र प्रधानका लागि यो निर्वाचनले महत्त्वपूर्ण अर्थ राख्छ। यही भएर उनीहरु आफ्नो जितका लागि रातदिन नभनी खटिएका छन्। सँगसँगै महासंघसँग सरोकार राख्ने सबैका लागि पनि वरिष्ठ उपाध्यक्ष पदमा कसले चुनाव जित्ला भन्ने चासो बढेको छ।
साधारणसभाबाट वरिष्ठ उपाध्यक्षसहित तीनजना उपाध्यक्ष, जिल्ला नगरतर्फ १८ जना केन्द्रीय सदस्य, वस्तुगततर्फ १४ जना केन्द्रीय सदस्य र एसोसिएटतर्फ १९ जना केन्द्रीय सदस्य छानिने छन्। तर, उम्मेदवारहरु ढकाल र प्रधान प्यानलमा विभाजित भएर प्रतिस्पर्धामा उत्रिएका हुनाले वरिष्ठ उपाध्यक्ष पदमा झनै चासो बढ्न पुगेको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवारको अवधारणाले सिंगै प्यानलको प्रतिनिधित्व गर्ने भएकाले मतदाताले पनि अन्य उम्मेदवारको भन्दा ढकाल र प्रधानका अभिव्यक्तिलाई नै चासो दिएर हेरिरहेका छन्।
कसको एजेन्डा के ?
चुनावी प्रचारको अन्तिम कसरतमा रहेका प्रतिस्पर्धीद्वय ढकाल र प्रधानले मतदाता प्रतिनिधिलाई आकर्षित गर्न आ-आफ्ना एजेन्डा सार्वजनिक गरेका छन्। ढकालले महासंघका काम कारबाही प्रभावकारी बनाउन महासंघको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिनुपर्ने तर्क गर्दै यसका लागि आफू सही उम्मेदवार भएको दाबी गरेका छन्। देशमा औद्योगिक तथा व्यावसायिक वातावरण निर्माणलाई पनि उनले आफ्नो एजेन्डाका रुपमा प्रस्तुत गरेका छन्। निजी क्षेत्रका समस्या नजिकबाट बुझ्न र समाधान गर्न आफूलगायत आफ्नो प्यानलका सबै लागि पर्ने उनको भनाइ छ। ढकालले आफू पूर्वअध्यक्षहरुले छाडेर गएको विरासत धान्न सक्ने उम्मेदवार भएको दाबी पनि गर्दै आएका छन्।
वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार प्रधानले भने उद्योग वाणिज्य महासंघमा राजनीतिक हस्तक्षेप हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। लगानीकर्ताको मनोबल बढाउने तथा उद्योगी व्यावसायीको हकहित र सम्मानका लागि काम गर्ने उनको एजेन्डा छ। उनले देशको आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्याउन सरकारसँग मिलेर काम गर्ने अवधारणा पनि प्रस्तुत गरेका छन्।
ढकालले आफूलाई साना मझौला व्यावसायीदेखि ठूला उद्योगीसम्मका समस्या बुझेर तिनको समाधानका लागि नीति निर्मातासम्म पुर्याउन सक्ने उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन्। प्रधानले भने ढकालको राजनीतिक दलका नेतासँग भएको सम्बन्धकै कारण उद्योग वाणिज्य महासंघमा राजनीतिक हस्तक्षेप हुने खतरा औंल्याउँदै आएका छन्। ढकालले आफ्नो जुन क्षमतालाई देखाएर प्रतिनिधिसँग मत मागिरहेका छन्, त्यही क्षमतालाई प्रधानले महासंघका लागि खतराका रुपमा औंल्याउँदै भोट मागिरहेका छन्।
ढकालले राज्यसँग निजी क्षेत्रको साझेदारी एवं नीति निर्माणमा पैरवीका लागि पहल गर्ने, नेपालमा विदेशी लगानी भित्र्याउन लगानी मैत्री वातावरण निर्माण गर्ने र नेपाली उद्यमीलाई विदेशी लगानीकर्ताको साझेदार बनाउने योजना अघि बढाउने बताएका छन्। यस्तै, प्रधानले निर्यात प्रवद्र्धन, कृषिको व्यावसायीकरण र निजी क्षेत्रको संलग्नता वृद्धि, रोजगारमूलक उद्योगको विकास र विस्तार, महासंघको सबलीकरणलगायतका पक्षलाई आफ्नो एजेन्डाका रुपमा अघि सारेका छन्।
मंसिर ८, २०७७ सोमबार २०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।