राजा बस्ने घरमा दंग टंकप्रसाद

काठमाडौं : कुप्रो परेको शरीर। एक हातमा लौरो र अर्को हात पिठ्यूमा। एक बृद्ध नारायणहिटी संग्राहालय अगाडि लौरो टेकेर हिँडिरहेका छन्। अघिअघि एक युवक र पछिपछि ति बृद्ध छन्।
आइतबार दिउसोको दृश्य हो यो। ति बृद्ध हुन् गोरखा घ्यालचोकका ९१ वर्षीय टंकप्रसाद पोखरेल। उनी नारायणहिटी संग्राहालय घुमेर फर्किदैछन्।
राणाशासनदेखि गणतन्त्रसम्मको साक्षी बनेका पोखरेलको नारायणहिटी संग्राहालय घुम्ने धोको अहिले आएर पुरा भएको छ।
स्वर्गीए राजा विरेन्द्रको परिवार बस्ने श्री निवास पहिलो पकट खुलेकै दिन पोखरेलले उक्त निवासको अवलोकन गर्न पाएका छन्।
‘टेलिभजनबाट श्री निवास खुल्ने जानकारी पाएपछि नातिको साथ लागेर आएको हुँ’ पोखरेलले भने,‘राजा बस्ने घर राम्रो लाग्यो।’
राजाको परिवार कस्तो घरमा बस्दो होलान ?, कस्ता सामान प्रयोग गर्दाहुन् ? भन्ने कौतुहलता मनमा पालेका पोखरेलले जीवनको उत्तरार्धमा भए पनि आफ्नै आँखाले देख्दा ठूलो इच्छा पुरा भएको सुनाए।
पोखरेलसँगै रहेका उनका नाती २५ वर्षीय रचित घिमिरले भने,‘राजा बस्ने घर त हाम्रै जस्तो सामान्य पो रहेछ।’
‘मैले त अर्कै होला सोचेको थिँए तर राजपरिवारको जीवनशैली बाहिर सुनेजस्तो देखिएन’ घिमिरेले भने,‘राजा बस्ने घर पनि मध्ययम वर्गीय परिवारको घरजस्तो मात्र रहेछ।’
राजाको शयन कक्ष, डाईनिङ, कोठाहरु र प्रयोग भएका सामग्री आफूलाई धेरै सामान्य लागेको उनले सुनाए।
घिमिरे र श्रेष्ठको जस्तै श्री निवास घुमेर फर्किने अधिकांशले राज परिवारले सर्वसाधारणको जस्तै जीवन व्यतित गरेको आफूले महशुस गरेको सुनाए।
नारायणहिटीको बाहिरी स्वरुपभन्दा श्री निवास निकै सामान्य रहेको उनीहरुको प्रतिक्रिया थियो।
राजा विरेन्द्रको परिवार बस्ने घरमा रङ सम्म पनि नलगाएको काभ्रेका बुद्धमान तामाङले बताए।
कोरोना महामारीका कारण करिव ८ महिनापछि खुलेको नारायणहिटी संग्रहालयमा आउनेहरु अधिकांश राजा विरेन्द्रको निवास हेर्ने थिए।
‘राजा त सामान्य बिस्तारा, सामान्य किचन र कोठामा बसेका रहेछन् यत्तिको त सर्वसाधारणको पनि हुन्छ’ काभ्रे रोशीका अनिल तामाङले भने,‘घर पनि गाँउघरका जस्तै सामान्य रहेछ।’
संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाल अवलोकनमा आउनेहरुबाट राजपरिवारको बैभवबारे सुने भन्दा सादा जीवनमा बाँचेको पाएको प्रतिक्रिया आएको बताँउछन्। ‘नेपालीपन र १२ कोठाको सामान्य घरले सादा जीवन र प्रकृतिप्रेमी राजाको जीवनशैली बुझ्न मदत गरेको छ’ उनी भन्छन्।
संग्रहालयका अनुसार श्री निवास विरेन्द्रको आफ्नै डिजाईनमा २०२३ सालमा तयार भएको हो। राजकिय परम्परा अनुसार यूवराजधीराज घोषणा भएपछि परिवारबाट टाढा रहने परम्परा अनुसार विरेन्द्रले आफ्नो निवास तयार गराएका थिए।
नारायणहिटीलाई २०६५ फागुन १५ गते सर्वसाधारणका लागि खुल्ला गरिएको थियो। दोस्रो चरणमा २०७५ भदौ २९ मा श्रीपेच प्रर्दशनी र तेस्रो चरणमा २०७७ मंसिर ७ बाट सरकारले तेस्रो चरणमा श्रीसदन सर्वसाधारणका लागि खुल्ला गरेको हो।
नारायणहिटी संग्राहालयमा रहेका ५२ कक्षमध्ये ३२ कक्ष मात्र संग्रहालयका रुपमा खुल्ला गरिएका छन्।
सिनेमा हल, राजाको अध्ययन कक्ष लगायतका अन्य कक्ष पनि क्रमशः खुलाँउदै लाने तयारीमा रहेको संग्रहालय प्रमुख दाहालले जानकारी दिए।
श्री निवाससँगै राजकिय समारोहमा जाँदा प्रयोग गर्ने बुलेटप्रुफ मोटरगाडी, युवराज दिपेन्द्र, निराजन र श्रुतीले बाल्यकालमा प्रयोग गरेका
खेलौना गाडीहरु, जर्मन चान्स्लर हिटलरले राजा त्रिभुवनलाई उपहारस्वरुप पठाएको जर्मन मोडलको गाडी, राजा विरेन्द्रले प्रयोग गर्ने सैनिक हेलिकप्टर लगायतका सामग्री प्रदर्शनमा राखिएका छन्।
कोरोना महामारीका संग्राहलय कारण अवलोकन गर्न आउनेको संख्या भने न्यून छ। आइतबार पहिलो दिन खुलेको संग्रहालयमा २ सय ५० सर्वसाधारण मात्र अवलोकनका लागि आएको संग्रहालयले जनाएको छ।
कोरोना महामारी अघि भने दैनिक २ देखि ३ हजारसम्म सर्वसाधारण संग्राहालय अवलोकनका लागि आउने गर्दथे।
मंसिर ८, २०७७ सोमबार १५:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।