मुक्तिनाथ बैंकलाई युरोपियन माइक्रोफाइनान्स अवार्ड

विराटनगर : ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड’ २०२० बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ।
१ लाख युरो नगदसहित बैंक पुरस्कृत भएको हो। ‘लक्जम्वर्गमा आयोजित युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ मा नेपालको मुक्तिनाथ विकास बैंक नगदसहित पुरस्कृत भएको छ।
मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यहरूको जीविकोपार्जनमा पारेको सकारात्मक परिवर्तनका लागि उक्त अवार्ड प्रदान गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतियोगितामा ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए। प्रतियोगिताको उत्कृष्ट ३ मा नेपालको मुक्तिनाथ विकास बैंक, वेनिन र इथियोपियाका १÷१ वटा संस्था छनोट भएका थिए।
उक्त पुरस्कारबाट प्राप्त रकमले न्यून आय भएका सदस्यलाई डिजिटल बैंकिङमा सहभागि गराउने बैंकको योजना छ।
मुक्तिनाथ विकास बैंकले ४२ जिल्लाका रहेका १ सय ३८ ओटा शाखाहरु मध्ये १ सय १८ ओटा शाखामार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।
साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिइरहेका छन्।
यो क्षेत्रमा बैंकको १७ अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको जनाएको छ।
मंसिर ८, २०७७ सोमबार १३:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।