सेयर बजारमा फेरि नयाँ कीर्तिमान

सेयर बजारमा फेरि नयाँ कीर्तिमान

काठमाडौं : पछिल्लो केही समययता नयाँ नयाँ कीर्तिमान बनाउँदै उचालिएको सेयर बजारले यो साताको पहिलो दिन आइतबार पनि फेरि नयाँ रेकर्ड बनाएको छ।

नेपाल स्टक एक्सेचन्जका अनुसार यो दिन ६ खर्ब ९० अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नेपालको सेयर बजारको इतिहासमा यो हालसम्मकै सबैभन्दा ठूलो दैनिक कारोबार आकडा हो।

यसअघि गत साताको अन्तिम दिन पनि दैनिक कारोबार रकमले नयाँ रेकर्ड बनाएको थियो। त्यस दिन झन्डै ६ अर्ब १२ करोडको सेयर किनबेच भएको थियो। सो रेकर्डलाई आइतबारको कारोबार रकमले पछि पारेको छ। आइतबार ६३ हजार पाँच सय ७० कारोबारबाट दुई सय एक कम्पनीका एक करोड ६० लाख ३४ हजार सात सय १७ कित्ता सेयर खरिद बिक्री भएका छन्। एकै दिन यति धेरै सेयर कित्ता कारोबार भएको पनि यो पहिलो पटक हो।

सेयर बजारले सूचीकृत कम्पनीको पुँजीकरणमा पनि नयाँ कीर्तिमान बनाएको छ। आइतबार बजार पुँजीकरण २३ खर्ब ८९ अर्ब पुगेको छ। यो नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)को ६६ प्रतिशतभन्दा बढी हो। गत आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन ३६ खर्ब हाराहारी रहेको अनुमान गरिएको छ। नेपालजस्तो अल्पविकसित देशमा जिडिपी र बजार पुँजीकरणको अनुपात ७० प्रतिशतसम्मलाई ठीकै मानिन्छ। यो अनुपात त्यसभन्दा माथि जान थाल्यो भने नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायले सेयर बजारको वृद्धिलाई नियमन गर्न विभिन्न आर्थिक औजार प्रयोगमा ल्याउँछन्।

आइतबार सेयर बजारमा विभिन्न कीर्तिमान कायम भए पनि बजारको बढ्ने गतिमा भने ब्रेक लागेको छ। केही दिनदेखि निरन्तर बढेको बजार आइतबार झिनो विन्दुले मात्रै धनात्मक छ। सेयर बजार परिसूचक नेप्से यस दिन १७८२.८१ विन्दुमा छ। यो अघिल्लो कारोबार दिनको तुलनामा चार दशमलब सात विन्दुले बढी हो। गत बिहीबार नेप्से ३६.३१ विन्दुले वृद्धि भएर १७७८.१२ मा पुगेको थियो। आइतबार पनि बजार खुल्नेबित्तिकै तीव्र गतिले नेप्से उकालो लागेको थियो। बजार खुलेको आधा घन्टामै नेप्से बढेर १८११ विन्दुमा पुगेको थियो। सेयर आपूर्ति बढेका कारण करिब एक घन्टापछि भने नेप्से बिस्तारै ओरालो लागेको थियो।

पछिल्ला केही महिनायता सेयर बजार निरन्तर उकालो यात्रामा छ। कोभिड १९ ले लगानीका क्षेत्र खुम्च्याइँदिदा लगानीकर्ता सेयर बजारतिर आकर्षित हुन पुगेका हुन्। यस अवधिमा उनीहरुलाई बजारले राम्रो प्रतिफल पनि दिएको छ। प्रायः सबै सूचीकृत कम्पनीको सयेर भाउ ५० देखि १०० प्रतिशतसम्म वृद्धि भएको छ। केही कम्पनीको त सय प्रतिशतभन्दा पनि बढीले सेयर मूल्य बढेको छ।

सेयर बजारको लगानी अन्य क्षेत्रको लगानीको तुलनामा बढी नै तरल मानिन्छ। आवश्यक परेको समयमा तत्कालै सेयर बेचेर नगदमा परिणत गर्न सकिने भएकाले पनि लगानीकर्ताले अन्य क्षेत्रमा सम्भावना नदेखिँदा सेयर बजारमा पैसा खन्याउने गरेका छन्। बैंकमा लगानी योग्य रकम थुप्रिँदा पनि सेयर बजारको वृद्धिमा सहयोग पुग्यो। तरलता बढी भएपछि बैंकहरुले सस्तो ब्याजमा कर्जा प्रवाह गर्न थाले, जुन सेयरमा लगानी हुन पुग्यो। यसले बजार बढाउन सहयोग गर्याे। तर, सेयर बजार सधैं बढ्ने मात्र नभई एउटा निश्चित विन्दुमा पुगेपछि ओरालो लाग्न सुरु गर्छ। त्यसैले लगानीकर्ताले सचेत भएर बजारको गतिविधि नियाल्न र सही समयमा सही निर्णय गर्न सक्नुपर्छ।

मंसिर ७, २०७७ आइतबार २१:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।