विप्लव समुहका सेक्सन कमाण्डर हतियारसहित पक्राउ 

विप्लव समुहका सेक्सन कमाण्डर हतियारसहित  पक्राउ 

विराटनगर : मोरङको उर्लाबारीबाट प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सेक्सन कमाण्डरलाई हतियारसहित पक्राउ गरेको छ।

ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ का ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई  हतियारसहित शनिबार प्रहरीले पक्राउ गरेको हो।  

पक्राउ परेका शेर्पाको साथबाट प्रहरीले मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दास्तावेजहरु पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता मानबहादुर राईले जानकारी दिए।

राईकाअनुसार उर्लावारी–६ रमाइलो टोल स्थित एकबहादुर विश्वकर्माको घरमा प्रतिबन्धीत नेकपाका कार्यकर्ता लुकिछिपी बसेको सूचनाका आधारमा छापा मार्दा शेर्पा पक्राउ परेका थिए। 

पक्राउपछि हिरासतमा लिइएका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको छ। शेर्पाविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दामा आवश्यक अनुसन्धान भइरहेको राईले जानकारी दिए। 


 

मंसिर ७, २०७७ आइतबार १५:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।