सुत्केरीको मृत्यु : घटनाको छानविन गर्न समिति गठन

जनकपुरधाम : शनिबार राति सिरहा लहानस्थितएक निजी अस्पतालमा सुत्केरीको मृत्यु भएको घटनाको छानविन गर्न तीन सदस्यीय समिति गठन भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख किष्णदेव यादवको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन हो।
सिरहाका प्रमूख जिल्ला अधिकारी प्रदिपराज कँडेलका अनुसार समितिमा लहान अस्पतालका स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ र लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख गरी तीन जना रहेका छन्।
लहानको डिभाइन हेल्थ केयर एण्ड अस्पतालमा सुखीपुर नगरपालिका–९ बैसाखाकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा शनिबार राति मृत्यु भएको थियो।
शल्यक्रियाबाट जन्मिएका शिशु भने सकुशल रहेको पारिवारिक श्रोतले बताएको छ। शिशुलाई सप्तऋषि अस्पताल राखिएको छ।
पीडित पारिवारले चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै विरोध गरेका थिए। उनीहरूले अस्पतालमा तोडफोडसमेत गरेका छन्।
समितिका सदस्यहरुले छानबिन गरेर जिल्ला प्रशासन कार्यालय सिरहालाई प्रतिवेदन पेश गर्ने र अस्पतालको दोष देखिए कानुनी कारवाही गर्ने प्रजिअ कणेलले बताए।
अस्पतालको लापरवाही देखिए कानूनी कारवाही गर्ने सहमतिमा मृतकका परिवारले आन्दोलन स्थगित गरेको कँडेलले बताए।
अस्पताल सञ्चालक,कर्मचारी र चिकित्सकहरू सम्पर्कमा नआएको मृतक आरतीकी श्रीमान प्रमोद साहले बताए। ‘डाक्टरले लापरवाही गरेकैले मेरी पत्नीको मृत्यु भएको हो,’ उनले भने, ‘लापरबाही गर्ने चिकित्सकमाथि कारवाही हुनुपर्छ।’
आक्रोशित स्थानीयले आइतबार बिहान ८ देखि १० बजेसम्म पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित अस्पताल चौक खण्डमा यातायातसमेत अवरुद्ध गरेका थिए।
छानविन समिति गठन भएपछि विरोधका कार्यक्रमहरु स्थगित गरिएको छ। स्थानीय प्रशासनले अस्पतालको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरेको छ।
मंसिर ७, २०७७ आइतबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।