तस्कर प्रहरी घम्साघम्सी, एक राउण्ड हवाइ फायर 

तस्कर प्रहरी घम्साघम्सी, एक राउण्ड हवाइ फायर 

विराटनगर :  विराटनगरस्थित मटेरुवामा तस्कर प्रहरीबीच घम्साघम्सी भएको छ। तस्करको समुहलाई नियन्त्रणमा लिनेक्रममा घम्साघम्सी भएपछि एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता मानबहादुर राईका अनुसार विराटनगर–१७ स्थित मटेरुवामा आइतबार विहान तस्करको समूह र प्रहरीवीच घम्साघम्सी भएको हो। 

प्रहरीले हवाई फायर गरेर नेपाल–भारत सीमा क्षेत्रबाट एक जनालाई नियन्त्रणमा लिई तस्करीको सामान बरामद गरेको छ। भन्सार छली गरेर भारतबाट अवैध रुपमा सामान लिएर आउँदै गरेकोसमूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्न खोज्दा अवस्था तनावपूर्ण बनेको हो।

सादा पोसाकमा रहेको टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा हुलहुज्जत गरेर १०÷११ जनाको संख्यामा रहेका समूहले अवरोध पुर्याएपछि हवाई फायर गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

उनका अनुसार तस्करीको सामान नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण हुन थालेपछि पेस्तोलबाट एक राउण्ड हवाई फायर गर्नु परेको हो। हवाई फायर गरेपछि तस्कर समूह तितरवितर भएको खड्काले बताए।

हवाई फायर गरेर प्रहरीले सामान तस्करीमा संलग्न ३३ वर्षिय रविना खातुनलाई पक्राउ गरेको छ। कोरोना संक्रमणका कारण नेपाल– भारत अन्तराष्ट्रिय सीमा बन्द भए पनि तस्करी भने रोकिएको छैन। भारतले सीमा खुल्ला गरेपछि सीमा चोरबाटो प्रयोग गरी हुने तस्करी मौलाएको छ। 
 

मंसिर ७, २०७७ आइतबार १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।