मत्स्य दिवस : तिनाउमा एक लाख माछाका भुरा छाडियो

भैरहवा : रुपन्देहीमा रहेको तिनाउ नदीमा एक लाख माछाका भुराहरु छाडिएको छ। विश्व मत्स्य दिवसको अवसर पारेर शनिबार जिल्लाको मायादेवी गाउँपालिकास्थित बेथरी पुल नजिकबाट तिनाउ नदीमा माछाका भुरा छाडिएको हो।
लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजना तथा मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रबद्र्धन स्रोत केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई, जिल्ला मत्स्य व्यवसायी संघ लागायत संघसंस्थाहरुले तिनाउमा माछा छाडेका हुन्।
मत्स्य विकास निर्देशनालयका अनुसार ४ जातका एक लाख माछाका भुरा तिनाउमा छाडिएको हो। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव रेवतीरमण पौडेलले माछा उपभोग मात्रै नभएर यसले पर्यटक समेत भित्राउने जनाए। उनले भने, ‘माछा खानाले मानिसलाई निकै फाइदा गर्छ भने अर्कोतर्फ प्रवर्धन गर्न सकियो भने पर्यटकीय विकाससमेत हुन्छ।’
उनले जैविक विविधिता कायम गर्न, पानी शुद्ध राख्न, पानीमा अक्सिजनको मात्रा बढाउन माछाले भूमिका खेल्ने बताए। ‘विविध कारणले पानी अशुद्ध भइरहेको छ, पानी शुद्ध नहुँदा र प्राकृतिक तथा मानवीय कारणले नदीमा माछाको मात्रा घटेको छ’, उनले भने, ‘पानीलाई शुद्धिकरण गर्न र स्वस्थ बनाइराख्न माछाले निकै सहयोग गर्छ।’ पछिल्लो समय बाढी पहिरो,उद्योगहरुबाट निस्कने रसायनिक पदार्थ, फोहोरमैला, करेन्ट लगाउँदा नदीमा माछा घट्दै गएका छन्।
जसले गर्दा जैविक विविधतामा असर गरेको छ नै यसले खोलामा जाल हानेर माछा मारी जिविकोपार्जन गर्दै आएका समुदायको रोजीरोटीसमेत खोसिने अवस्था पुगेको छ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुल्सीराम भण्डारीले पानीको विविधतालाई सन्तुलन राख्न र मानव शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण पौष्टिक तत्वहरु प्रदान गर्ने प्रणी माछा भएको बताए।
‘माछा स्वास्थ्यको हिसावले निकै राम्रो मानिन्छ’, उनले भने, ‘अन्य आहार खाँदा र माछा खाँदा धेरै फरक पर्छ। धेरै प्रोटिन माछामा पाइन्छ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,माछा सुपरजोन संचालक समितिका संयोजक गणेशबहादुर शाहीले पानीको शुद्धतालाई जोगाई राख्नु सबैको दायित्व भएको बताए। उनले पानीलाई शुद्ध राख्न तालतलैया तथा नदीहरुमा माछा हुनै पर्ने जनाए। यसका लागि आफूहरुले विगतदेखि नै प्रयास गर्दै आएको उनको भनाई छ।
जिल्ला मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले व्यवसायीले किसानलाई माछापालनमा उत्साहित गर्न, पानी शुद्ध राख्न र जैविक विविधतालाई बचाई राख्न प्रत्येक वर्ष एकलाख माछाका भुरा तिनाउमा छाड्ने गरिएको बताए।
रुपन्देहीमा प्रत्येक वर्ष विश्व मत्स्य दिवसको अवसर पारी व्यवसायी र माछासँग सम्बन्धित सरकारी कार्यालयहरुले संयुक्तरुपमा मिलेर एक लाख माछाका भुरा तिनाउ नदीमा छाड्ने गरेका छन् । यसपल्टसँगै पाँचौपटक तिनाउमा माछाका भुरा छाडिएको हो। माछाका भुरा नदीमा छाड्नु अघि व्यवसायीले र्याली समेत निकालेका थिए।
रुपन्देही माछापालनका लागि उर्वर भूमि मानिन्छ। यहाँ १ हजार ५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा ५ हजार हाराहारी पोखरीमा माछापालन हुँदै आएको छ। जिल्लामा मात्रै बार्षिक करिब ६ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ भने यहाँ उत्पादित जिउँदो माछा छिमेकी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवनसहित पोखरा, काठमाडौंसम्म विक्री हुने गरेको छ ।
मंसिर ६, २०७७ शनिबार १९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।