बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको चेतावनी

नुवाकोट : सिस्डोलका स्थानीयले वैज्ञानिक व्यवस्थापन नगरिए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी दिएका छन्।
उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको ककनी गाँउपालिकास्थित ल्याण्डफिल साइटका स्थानीयले पुरानो यस्तो चेतावनी दिएका हुन्।
उनीहरुले हाल फोहोर व्यवस्थापन गरिँदै आएको ल्याण्डफिल साइटको वैज्ञानिक व्यवस्थापन तथा सिस्डोलबाट २ किलोमिटरको दुरीमा फोहोर फाल्ने तयारी भइरहेको बञ्चरेडाँडाका प्रभावितको व्यवस्थापनका मागगर्दै यस्तो चेतावनी दिएका हुन्।
स्थानीय यूवा क्लवहरुले निर्माणाधिन बञ्चरेडाँडा ल्याण्डफिल साइटमा गरेको ‘फोहोरमैला व्यवस्थापन तथा यसका समस्या’ विषक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले राज्यले २ वर्षका लागि भनेर १५ वर्षसम्म जर्वजस्ती फोहोर फालेको गुनासो गरे।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश संसद बद्री मैनालीले स्थानीय सरकार र केन्द्रसँग समन्वय गरेर समस्या सामाधान गर्नुको विकल्प नरहेको बताए।
‘मैले स्थानीयको समस्या बुझेको छु। दुवै पक्षलाई समन्वय गर्ने भूमिका निभाउनेछु’ उनले भने,‘केन्द्र सरकार र काठमाडौं महानगपालिकासँग छलफल गरेर नै समस्याको समाधान गरिन्छ।’
ककनी गाउँपालिका–३ का वडा अध्यक्ष घननाथ बजगाईले १५ वर्ष सम्म जथाभावी सिसडोलमा फोहोर फाल्दा नागरिकले स्वास्थ्य र वातावरण प्रदुषण समस्या झेल्नुपरेको बताए।
‘जमिनमा उत्पादन हुँदैन। खोलामा बिष बगिरहेको छ। जनता क्यान्सर जस्ता घातक रोग लागेर अकालमै मृत्युवरण गरिरहेका छन्’ बजगाईले भने,‘प्रहरी लगाएर फोहोर फालिन्छ।’
काठमाडौं महानगरपालिकाले माग वेवास्था गरेमा आन्दोलनमा उत्रिने चेतावनी दिए। वर्षाको समयमा फोहोर बगेर बाटो बिग्रने र बिरामीलाई डोकोमा बोकेर अस्पताल पु¥याउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ।
स्थानीय सिताराम घिमिरे काठमाडौंले सिसडोलबासीलाई अन्याय गरेको बताए। ‘१५ वर्ष पहिले नै फोहर फाल्न दिएर गल्ती गरिएको छ’ उनले भने,‘अब पनि यस्तै तरिकाले बञ्चरेडाँडामा फोहोर फाल्ने हो भने मर्न पनि तयार हुन्छौँ।फोहोर फाल्न दिँदैनौँ।’
प्रगतिशिल युवा क्लब, रोयल यूथ क्लब र अरुण युवा क्लबले आयोजना गरेको कार्यक्रममा क्लबका यूवाहरुले मान्छे र फोहोर एकै ठाँउमा बस्न नसक्ने भन्दै आक्रोश पोखेका थिए। स्थानीय यूवा कुसराजा घिमिरे फोहोरको कारण कोरोनाभन्दा प्राणघातक रोगको जोखिमबीच जीवन गुर्जानुपर्ने बाध्यता रहेको बताए।
धुनिवेशी नगरपालिका–१ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङले फोहोर व्यवस्थापनका विषयमा स्थानीय सरकारको भूमिकालाई वेवास्था गरिएको बताए।
‘यो कस्तो व्यवस्था हो ? जहाँ फोहोर फालिन्छ त्यँहीको स्थानीय सरकारलाई निर्णयको अधिकार र जानकारी दिँईदैन’ उनले प्रतिप्रश्न गरे।
ककनी गाउँपालिकाका–२ का वडा सदस्य ठाकुर घिमिरले फोहोर व्यवस्थापनमा समस्या आउने संकेत गरे।
‘शुरुमा जापानिज कम्पनीले फोहोर व्यवस्थापन गर्दै गजब बनाउँछौं भन्यो। अब सिसडोल जस्तै बञ्चरेडाँडामा पनि समस्या आउन सक्छ’ उनले भने अब पनि स्थानीयको कुरा नसुन्ने हो भने सडकमा उत्रिनुको विकल्प छैन।’
धादिङ र नुवाकोटको सीमानामा पर्ने बञ्चरेडाँडामा जापान सरकारको सहयोगमा ल्याण्डफिल साइट निर्माण भइरहेको छ।
शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले छिट्टै फोहोर फाल्ने तयारी गरिरहेको छ।
हाल व्यवस्थापन भइरहेको सिस्डोलमा अस्तव्यस्त रुपमा क्षमताभन्दा बढी फोहोर व्यवस्थापन हुँदै आएको छ।
मंसिर ५, २०७७ शुक्रबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।