राजमार्गमा रेलिङ नलगाउन माग

विराटनगर : विराटनगर–धरान ६ लेन सडकमा लगाउन लागिएको रेलिङले व्यापार व्यवसाय प्रभावित हुने भन्दै विराटनगरका उद्योगी व्यवसायीले सडक किनारमा रेलिङ नलगाउन माग गरेका छन्।
सडक विभाग र विराटनगर–धरान ६ लेन सडक बिस्तार आयोजनालाई पत्र लेख्दै उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा विराटनगर–धरान ६ लेन सडकको किनारामा रेलिङ नलगाउन माग गरेका हुन्।
सडकको दायाँ बायाँतिर प्रवेश सडक (एक्सेस रोड) को व्यवस्था नगरी फलामे रेलिङ लगाउन नहुने उनीहरूको भनाई छ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले व्यापार व्यवसाय नै प्रभावित हुने गरी सडक किनारमा रेलिङ लगाउनु उचित नभएको बताए।
सडकमा रेलिङ लगाउँदा सडक आसपासका हजारौं व्यवसायी मर्कामा पर्ने उनको भनाइ छ। ‘आम सर्वसाधारणको दैनिक जीवन सञ्चालन नै गर्न कठिनाई हुने गरी सडक किनारमा रेलिङ लगाउनु उचित हैन’ मुन्दडाले भने,‘सडकको दुवैतिर लाग्ने रेलिङका कारण मुख्य बजार, सो–रुम, व्यापारिक सटर, मल, खुद्रा व्यापार, साना, मझौला तथा ठुला उद्योगहरूसमेतको आर्थिक गतिविधि प्रभावित हुन्छ।’
रेलिङ नलगाउन उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आग्रह गरेका छन्। ६ लेन सडक निर्माणका क्रममा आयोजना कार्यालयले दुरदर्शिता अपनाउनुपर्नेमा त्यसो नगरेको र सडकका संरचनाका कारण आमसर्वसाधारणलाई थप कठिनाइ उत्पन्न हुने अवस्था सिर्जना भएको दुवै संगठनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सडकको दुबै भागमा साना तथा खुद्रा व्यवसायीले व्यापारिक सटर सञ्चालन गरी जीविकोपार्जन गरिरहेका छन र अर्कोतर्फ सोहि सडक आसपासमा ठूला मल, व्यापारीक शोरुम, अस्पताल, शिक्षण संस्थासमेत सञ्चालनमा रहेकाले सडक छेउको रेलिङले सबै क्षेत्र तथा व्यवसाय प्रभावित हुने उद्योगी व्यवसायीको भनाई छ ।
सडक किनारमा लगाइएको रेलिङका कारण औद्योगिक क्षेत्रमा मजदुरहरूको आउजाउमा समेत नकारात्मक असर पर्ने व्यवसायीको दाबी छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक किनारामा लगाइने रेलिङले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने बताएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख राकेश पोद्दारले सडक दुर्घटना न्यूनिकरण गर्न, सडकमा जथाभावि पार्किङ गर्ने र जथाभावि बाटो काट्नेलाई रेलिङले निरुत्साहित गर्ने बताए।
मंसिर ५, २०७७ शुक्रबार १५:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।