प्रशासनलाई अवज्ञा गर्दै छठको तयारी

कोरोना महामारीलाई मधयनजर गर्दै नदी तथा पोखरीमा नगई, स्वास्थ्य मापदण्ड पालना गरी घरमै छठ मनाउन सूचना सार्वजनिक गरियो। स्थानीय प्रहरी चौकीले टोल–टोलमा ‘माइकिङ’ समेत गरे । तर, प्रशासनको निर्णयलाई अवज्ञा गर्दै प्रदेश २ का नागरिक पोखरी तथा नदिमै छठ मनाउने धमाधम तयारी गरिरहेका छन्।
जनकपुरधामको गगां सागर पोखरीमा छठको तयारी गरिरहेका रामविन्य यादवले सामूहिक रुपमा तयारी भइरहेको बताए।
राजनीतिकदलको सभा, गोष्ठीप्रति प्रति लक्षित गर्दै उनले छठमा प्रशासन दिएको निर्णय स्थानीय सर्वसधारणलाई अमान्य हुने उनले तर्क गरे। ‘यातायात, विद्यालय र राजनीतिक दलको सभामा कोरोना नसर्ने ।
तर, छठमा कसरी सर्छ ?,’उनले भने, ‘फेरी घरमै छठ मनाउन सबैसंग सार्मथ्य पनि त छैन्।’
धनुषामामात्र होइन प्रदेश २ का अधिकांश जिल्लामा प्रशासनले घरमै छठ पर्व मनाउन आग्रह गरेको भएपनि जलासयमै छठ मनाउने तयारी भइरहेको छ।
कतिपय जिल्लामा एउटा परिवारबाट ब्रतालुसहित दुई जनासम्म मात्रै जान आग्रह गरिएको छ। धनुषामा भने घरमै पर्व मनाउन आग्रह गरेको प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआईजी) धिरजप्रताप सिहंले बताए।
‘आम जनमानसले हाम्रो आग्रह मानिदिए धेरै राम्रो हुन्थ्यो,’ उनले भने, ‘कोरोनाले गर्दा यसवर्ष सावधानीपूर्वक छठ पर्व मनाउन आग्रह गरेका हौं।’
यता धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले सुचना आदेशात्मक नभई अनुरोधात्मक रहेको बताए। धर्म संस्कृतिमाथी रोक लगाउन प्रशासनले नसक्ने भन्दै जनता आफै जागरुक हुनुपर्ने उनले औल्याए। ‘संस्कृती मनाउन हामी रोक्दैनौं,’उनले भने, ‘तर कोरोना संक्रमणको अवस्थालाई ख्याल गर्न आग्रह गरेको हौं।’
बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सुरक्षा समितिको बैठक बसेर भिडभाड नगरीदिन आग्रह गरिएको जानकारी दिए। महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाल छठ मनाउँदा अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने गरी प्रहरी परिचानल गर्ने तयारी रहेको बताए।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि महोत्तरीकै मोडलेमा छठ पर्वको घाटसम्म ब्रतालु र उनको साथमा एक जनालाई मात्रै जान आग्रह गरिएको बताए।
उनले छठ पर्वलाई हेर्ने र भिडभाड भएको ठाउँँमा स्वयंसेवक र प्रहरी परिचालन गर्ने जानकारी दिए। सिराहा जिल्लामा स्थानीय प्रशासनले घर घरमै धारा राखेर छठ पर्व मनाउन अनुरोध गरेको छ। प्रजिअ प्रदीपराज कँणेलका अनुसार कतिपयले अनुरोधलाई स्वीकार गरेका छन् भने कतिपयले भने परम्परागत चाडपर्व मनाउनु पर्ने अडानमा छन्।
पर्सामा पण्डाल लगाउन रोक
पर्सा जिल्लामा पोखरी एवं नदीको जलासयमा पण्डाल लगाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले जलाशयमा बढीमा ब्रतालु र एक जना सहयोगी मात्र जान आग्रह गरेको छ।
स्थानीय युवाहरुले भारतबाट ‘आरकेष्ट्रा’(नाच) ल्याउने तयारी गर्दा पण्डाल निर्माणमा रोक लगाइएको बुझिएको छ ।
आज छठको दोस्रो दिन
कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिने छठपर्व बुधबारदेखि सुरु भइसकेको छ।
सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन बर्तालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत सङ्कल्प गरेका छन्।
यसलाई मिथिलामा ‘नहाय–खाय’ भनिन्छ। यद्यपि बर्तालुले यसअघि एक दिनपूर्व नै ‘अरवाअरवाइन’ विधिअनुसार चाखोनितोको ख्याल सुरु गरिसकेका छन्।
त्यसैगरी दोस्रो दिन विहिबार पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गरिन्छ। दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ।
पर्वको मुख्य दिन षष्ठी तिथिका दिन बर्तालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिन्छन्।
यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ। यो विधिलाई ‘सझुका अरख’ भनिन्छ।
षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ। शुक्रबार साँझको अर्घ र शनिबार बिहानको अर्घ दिएपछि सम्पन्न हुन्छ।
मंसिर ४, २०७७ बिहीबार १७:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।