कराँचीलाई पहिलो पटक पिसिएल उपाधि

कराँचीलाई पहिलो पटक पिसिएल उपाधि
तस्बिर : क्रिकइन्फो डट कम।

काठमाडौं : कराँची किंग्सले पहिलो पटक पाकिस्तान सुपर लिग (पिसिएल)को पाँचौं सिजनको उपाधि जितेको छ।

कराँचीस्थित नेसनल स्टेडियममा मंगलबार राति सम्पन्न फाइनलमा उसले लाहोर कलान्दर्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो। 

लाहोरले दिएको १३५ रनको सामान्य लक्ष्य कराँचीले १८.४ ओभरमै पूरा गर्याे। उसका लागि म्यान अफ दि म्याच बाबर आजमले अविजित रहँदै ६३ रन जोडे। ४९ बलको सामना गरेका उनले आफ्नो पारीमा ७ चौका प्रहार गरे। यस्तै, चाड्विक वाल्टनले २२, सर्जिल खानले १३ रनको योगदान दिए। 

बलिङतर्फ लाहोरका हरिस राउफ र दिल्बार हुसेनले समान २ विकेट लिए। यस्तै, समिट पटेलले एक विकेट चट्काए। 

यसअघि टस जितेर ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रन जोडेको थियो। उसका लागि तमिल इकवालले सर्वाधिक ३५ रन बनाए। यस्तै, फकर जमानले २७ रनको योगदान दिए। 

बलिङमा कराँचीका वाकस मक्सुद, अर्साद इकवाल र उमेद आसिफले समान २ विकेट लिए। 

अघिल्लो सिजनको उपाधि विजेता क्वेटा ग्लाडियटर्स भने प्लेअफबाट बाहिरिएको थियो। त्यसअघि इस्लामावाद युनाइटेडले दुई पटक र पेशावर जल्मीले एक पटक पिसिएलको उपाधि जितेको थियो। 

क्रिकइन्फो डट कम

मंसिर ३, २०७७ बुधबार ०८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।