सुनसान महालक्ष्मीथान

सुनसान महालक्ष्मीथान

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण श्रद्धालुलाई प्रवेश रोक लगाएपछि लक्ष्मीपूजाको दिन आज मन्दिरमा चहलपहल नदेखिएको हो। मन्दिरको गेटमा ताल्चा लगाइएको छ। 

मन्दिर प्रवेशमा रोक लगाएकाले श्रद्धालु गेटबाहिरबाटै फर्किने गरेको मन्दिरका पुजारी सानुभाई देउलाले बताए। उनले भने, ‘मन्दिरमा भीडभाड गरी पूजाआजा गर्न नपाइने सरकारको आदेशपछि श्रद्धालुलाई मन्दिर प्रवेशमा रोक लगाएका हौं।’ 

नगरपालिकाले मन्दिर नखोल्न आग्रह गर्दै चिठी पठाएपछि पूर्णरूपमा मन्दिर बन्द गरिएको महालक्ष्मीथान व्यवस्थापक समिति सचिव अच्युत खनालले बताए। उनले भने, ‘हामीले तिहारका बेला मन्दिर खोल्ने सुझाव दिएका थियौं। तर, वडाले मन्दिरमा धेरै भिडभाड हुने भएकाले नखोल्नू भनेर पत्र पठाएपछि पूर्णरूपमा बन्द गरेका हौं।’

अहिले महालक्ष्मीथानमा फाट्टफुट्ट पूजाआजा गर्नेबाहेक अन्य श्रद्धालु देखिँदैनन्। मन्दिरमा पूजाआजा गर्न आएका श्रद्धालु गेटबाहिरैबाट फर्किने गरेका छन्। 

गाडीको पूजा तथा भाकल पूरा गर्न आउने श्रद्धालुलाई भने प्राथमिकता दिइएको छ। नयाँ गाडीेको पूजा गर्न आउनेलाई गेटबाहिर बाटोमै राखेर पूजा गराइने गरिएको छ।

व्यवस्थापन समितिका सचिव खनालले भने, ‘उहाँ (श्रद्धालु)हरू फूल बोकेर बाहिर उभिँदा नरमाइलो लाग्ने भएकाले सहज बनाइदिएका हौं। त्यो बाहेक अरुलाई प्रवेश दिइएको छैन।’

मन्दिरमा दैनिक पूजा भने रोकिएको छैन। मन्दिरमा दैनिक बिहान साढे ४ बजे पूजा नित्य पूजाअर्चना गरिँदै आएको छ। 

कात्तिक २९, २०७७ शनिबार ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।