बढ्दैछ सेयर बजार, उकालो लाग्दै नेप्से

बढ्दैछ सेयर बजार, उकालो लाग्दै नेप्से

लकडाउन खुकुलिएसँगै खुलेको सेयर बजार ओरालो लागेर जेठ दोस्रो साता ११५० विन्दुमा पुग्यो।

त्यसपछि सेयर बजार निरन्तर बढिरेहेको छ । यो साताको अन्तिम कारोबार दिन बिहीबार बजार बन्द हुँदा नेप्से १७१८.४९ विन्दुमा छ । जेठ दोस्रो सातायता नेप्से ४९ प्रतिशतले वृद्धि भइसकेको छ।

बैंकमा तरलता बढ्दै जाँदा कर्जाको ब्याज दर आठ–नौ प्रतिशतमा झरेको छ, जबकि कोरोना कहर सुरु हुनुअघि यस्तो ब्याज दर १३–१४ प्रतिशत थियो । ब्याज सस्तो भएपछि बैंकको निक्षेपको केही हिस्सा सेयर बजारमा कर्जाका रुपमा परिचालन हुन पुगेको छ।

विश्वव्यापी महामारीका रुपमा देखिएका कोभिड १९ ले नेपालको अर्थतन्त्रसमेत चौपट बनाउने संकेत देखिएका बेला सेयर बजार निरन्तर बढ्नुलाई आश्चर्यका रुपमा हेरिएको छ।

नेपालको मात्र नभएर विश्वका अधिकांश ठूला सेयर बजारहरु झन्डै ‘भी’ आकारमा बाउन्स ब्याक भएका छन्।
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर शून्य हाराहारी हुन सक्ने प्रक्षेपण भइरहँदा सेयर बजारको निरन्तर वृद्धिमा केही कारक तत्वले भूमिका खेलेको बजारका विज्ञहरुले औंल्याएका छन्।

 उनीहरुका अनुसार पहिलो कारण हो पर्याप्त तरलता । यति बेला बैंकहरुमा लगानीयोग्य पुँजी थुप्रिएर बसेको छ । कोभिडका कारण लगानीका क्षेत्र खुम्चिँदै गएका छन् । अर्कोतिर सर्वसाधारणले भविष्यको जोखिमलाई ध्यान दिएर आफूसँगको रकम बचतका रुपमा बैंकमा राखेका छन्।

जसले गर्दा बैंकमा निक्षेप जुन अनुपातमा बढेको छ, कर्जा लगानी सोही अनुपातमा बढ्न नसकेको नेपाल राष्ट्रबैंकका साथै बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरणले देखाएका छन्।

बैंकमा तरलता बढ्दै जाँदा कर्जाको ब्याज दर आठ–नौ प्रतिशतमा झरेको छ, जबकि कोरोना कहर सुरु हुनुअघि यस्तो ब्याज दर १३–१४ प्रतिशत थियो।

ब्याज सस्तो भएपछि बैंकको निक्षेपको केही हिस्सा सेयर बजारमा लगानी हुन पुगेको छ । सेयर बजारका लगानीकर्ताले सस्तो ब्याजमा कर्जा लिएर लगानी गर्दा सेयर बजार वृद्धि हुनुमा बल पुगेको छ।

बजार निरन्तर वृद्धि हुनुमा अर्को कारणका रुपमा देखिएको छ सूचीकृत कम्पनीहरुको लाभांश। नेप्सेमा सूचीकृत कम्पनीहरुले केही दिन यता धमाधम लाभांश घोषणा गरिरहेका छन्।

अहिले सेयरमा लगानी गर्दा तत्काल लाभांश पाउने भएपछि लगानीकर्ताहरु उत्साहित हुन पुगेका छन्। लगानीकर्ताले आफूले लगानी गरेको कम्पनीबाट बोनस सेयर र नगदका रुपमा लाभांश पाउँछन्।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बोनस सेयर र नगद लाभांशको अनुपात ७०–३० हुनेगरी लाभांश वितरण गर्नुपर्ने निर्देशन जारी गरेको छ।

नेपालका सेयर लगानीकताको आकर्षण नगदमा भन्दा बोनस सेयरमा बढी देखिन्छ । राष्ट्रबैंकको निर्देशनले बोनस सेयर धेरै पाउने निश्चित गरेपछि पनि लगानीकर्ताले सेयर बजारमा लगानी बढाएका छन् । नेपालको सेयर बजारमा ७० प्रतिशतभन्दा बढी हिस्सा बैंक तथा वित्तीय संस्थाको छ।

कोरोनाका कारण लगानीका क्षेत्र खुम्चिन पुग्दा पनि सेयर बजार बढ्न सहयोग पुगेको छ । प्रायः सबै क्षेत्रको व्यापार व्यवसाय चौपट भएका बेला नयाँ लगानीका लागि जोखिम बढी हुनु स्वाभाविकै हो।

त्यसैले यति बेला उद्यमी व्यवसायी लगानी थप्न हिचकिचाइरहेको अवस्था छ भने नयाँ उद्योग कारखाना सञ्चालनमा ल्याउन पनि वातावरण अनुकूल छैन । यस्तो बेला लगानीका लागि भरपर्दो क्षेत्र सेयर बजारमात्रै देखिएको छ। त्यसैले पनि लगानीयोग्य रकम सेयर बजारमा एकोहोरिँदा बजार बढ्न सहयोग पुगेको छ।

सेयर बजार प्रविधि मैत्री बनेकाले पनि नेप्से वृद्धिमा सहयोग पुगेको छ । पछिल्लो समयमा प्रायः सबैजसो सेयर कारोबार अनलाइन प्रणालीमार्फत हुने गरेको छ । रकमको भुक्तानी पनि अनलाइन प्रणालीमार्फत नै हुने गरेको छ । यसले बजारमा लगानीकर्ताको पहुँच बढाएको छ।

वैदेशिक रोजगारीमा बाहिर गएका नेपालीमात्र नभएर गैरआवासीय नेपालीले समेत नेपालको सेयर बजारमा लगानी गर्न थालेका छन् । यसले पनि नेप्सेलाई गति दिन मद्दत गरिरहेको छ।

पछिल्लो समय अर्थमन्त्रीको फेरबदलले पनि बजार बढ्न सहयोग पु¥याएको विश्लेषण गरिएको छ । अर्थमन्त्रीबाट युवराज खतिवडा बिदा भएपछि अहिले विष्णु पौडेलले सो जिम्मेवारी सह्मालेका छन्।

आफ्नो कार्यकालभरि खतिवडाले लगानीकर्ताबीच सेयरबजार विरोधी छवि निर्माण गरे । उनी अर्थ मन्त्रालयबाट बाहिरिएपछि त्यसको प्रभाव बजारमा परेको र नेप्से बढ्न मद्दत पुगेको विश्लेषण हुँदै आएको छ । यद्यपि सेयर बजार भने उनी बाहिरिनुभन्दा चार महिनाअघि देखि नै उकालो चढ्न सुरु गरिसकेको थियो।

सावधान हुन  उत्तिकै जरुरी

सेयर बजारको गति सधैं एउटै हुँदैन। बढेपछि एउटा विन्दुमा पुगेर घट्नु र घटेपछि फेरि कुनै विन्दुबाट फर्किनु सेयर बजारको विशेषता नै हो। 

 त्यसैले बजारको गति र प्रकृतिप्रति निरन्तर सचेततापूर्वक अवलोकन र विश्लेषण गरिरहनुपर्छ । आफूले राम्ररी अध्ययन विश्लेषण नगरी देखासिकीमा लगानी गर्दा फस्न सक्ने सम्भावना धेरै हुन्छ । यस्तो सम्भावना बढ्दो बजारमा अझ बढी हुन्छ।

 

कात्तिक २८, २०७७ शुक्रबार ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।