प्रदेश १ मा देउसी खेल्न र खोला तलाउमा पूजा गर्न निषेध

प्रदेश १ का जिल्ला प्रशासन कार्यालयहरूले सूचना प्रकाशित गरी सामूहिक रुपमा चाडवाड मनाउन, देउसी भैलो खेल्न, खोला किनरामा भेला भई पर्व मनाउन रोक लगाएका हुन्।
जिल्ला प्रशासन कार्यालय उदयपुरले मंसिर ५ गते दिउँसो ३ बजे देखि ६ गते विहान ८ बजेसम्मका लागि त्रियुगा, बरुवा, फर्सेटखोला, मुर्कुटीको छौंडा खोला, कटारीको तावाश्री खोलालगायत जिल्लाका सबै खोलामा सामूहिक रुपमा पर्व मनाउन, भिडभाड गर्न, जम्मा हुन निषेध गरेको छ।
प्रशासन कार्यालयले छठ पर्व घरमै कुण्डबनाई मनाउन जिल्लावासीलाई आग्रह गरेको छ।
यस्तै तिहारमा देउसी भैलो खेल्न, मृत्यु संस्कारमा तोकिएको संख्यामाबाहेक भेला हुनसमेत निषेध गरेको छ।
जिल्ला प्रशासन कार्यालय झापाले दिपावलीमा देउसी, भैलो खेल्न र नाचगान गर्न रोक लगाएको छ।
यस्तै छठ पर्बमा आफ्नै घर, आँगनमा कुण्ड बनाई मनाउन आग्रह गरेको छ। सुनसरी प्रशासनले कार्तिक २४ देखि मंसिर ६ गतेसम्म, सामूहिक रुपमा पर्व मनाउन, देउसी भैलो खेल्न, खोला नदिनमा गएर पर्व मनाउन निषेध गरेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले पनि मस्जिद मन्दिरलगायतका स्थानहरूमा नित्य पुजा, प्रार्थनाबाहेक अन्य क्रियाकलाप गर्न, देउसी, भैलोलगायतका सांस्कृतिक कार्यक्रम गर्न, नदि, नहर, तलाउ आदि स्थानमा भेला भई सामूहिक रुपमा पर्व मनाउन, शुभकामना आदानप्रदान, सभा सम्मेलन, उद्घाटन, शिलान्याश गर्न रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालयले मंसिर २ गते सम्म अत्यावश्यक सेवा र निर्माणसामाग्रीका सवारी राधन बाहेक दुई पाङ्ग्रेसवारीसहित सबै खालका सवारी सञ्चालनमासमेत रोक लगाएको छ।
तराई क्षेत्रमा मात्रै नभएर पहाडी जिल्लामा पनि सामूहिक रुपमा चाड पर्व मनाउन, देउसी भैलो खेल्न, नदि, घाटमा जम्मा भई पुजा गर्न रोक लगाइएको छ।
पहाडी जिल्लाहरू इलाम, धनकुटा, संखुवासभा, ताप्लेजुङ लगायतका जिल्ला प्रशासन कार्यालयहरूले देउसी भैलो, खेल्न, सामूहिक रुपमा खोला किनारमा भेला भई पर्व मनाउन, सांस्कृतिक कार्यक्रम, सभा, सम्मेलन गर्न रोक लगाएका छन्।
कात्तिक २७, २०७७ बिहीबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।