मुम्बईलाई पाँचौं पटक आइपिएल उपाधि

काठमाडौं : मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल)को पाँचौं पटक उपाधि जितेको छ।
संयुक्त अरब इमिरेट्स (युएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार अबेर राति सम्पन्न आइपिएलको १३ औं सिजनको फाइनलमा दिल्ली क्यापिटललाई ५ विकेटले हराउँदै मुम्बईले पाँचौं पटक उपाधि जितेको हो। यो उसको लगातार दोस्रो उपाधिसमेत हो। यसअघि मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो।
१५७ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाएर जित हासिल गर्याे। उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन जोडे। यस्तै, इसान किसनले ३३, क्विन्टन डि ककले २० र सूर्यकुमार यादवले १९ रनको योगदान दिए।
बलिङमा एनरिच नोर्टजेले २ तथा कागिशो रवाडा र मार्कश स्टोनिसले समान १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो। २२ रनको स्थितिमा ३ विकेट गुमाएको दिल्लीको पारी श्रेयस ऐयर र रिसभ पन्तले सम्हाले पनि ठूलो स्कोर बनाउन सकेनन्। ऐयरले ६५ रन बनाउँदा पन्तले ५६ रन बनाएका थिए। शिखर धवनले १५ रन जोडेका थिए। अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्।
बलिङमा मुम्बईका ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिएका थिए। यस्तै, नाथन कुल्टर नायलले २ र जयन्त यादवले १ विकेट चट्काएका थिए।
खेलको म्यान अफ दि म्याच बोल्ट घोषित भए।
कात्तिक २६, २०७७ बुधबार ०१:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।