प्रदेश १ मा एकैदिन १२ संक्रमितको मृत्यु, ३१५ जनामा संक्रमण

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी १२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा ५ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३, न्युरो अस्पतालमा १, धरानको विपी कोइराला स्वास्थयविज्ञान प्रतिष्ठानमा १ र होम आइसोलेसनमा बसेका २ जनाको मृत्यु भएको हो।
नोबेल अस्पतालमा तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय पुरुष, झापा गौरादह–५ का ६५ वर्षीय पुरुष, झापाको हल्दिबारी–४ का ७० वर्षीय पुरुष, उदयुरको त्रियुगा–३ का २१ वर्षीय पुरुष, मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सुनसरी इटहरी–५ की ६९ वर्षीया महिला, विराटनगर–३ का ७७ वर्षीय पुरुष र विराटनगर –१ का ३७ वर्षिय पुरुषको मंगलबार विहान मृत्यु भएको छ । विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ । यस्तै धरानको विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उदयपुर चौदण्डिगढीका –२ का ४२ वर्षिय पुरुषको मंगलबार दिउँसो मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
यस्तै होम आइसोलेसनमा बसेका मोरङको सुन्दरहरैँचा–७ की ७७ वर्षीया महिला र विराटनगर–३का ८९ वर्षिय पुरुषको आफ्नै घरमा मृत्यु भएको छ । सुन्दरहरैंचाकी संक्रमित महिलाको मंगलबार बिहान र विराटनगर १ का संक्रमित पुरुषको सोमबार राती मृत्यु भएको हो । मृतकहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मृगौला र मुटु सम्बन्धी पुराना समस्याहरू रहेको अस्पतालहरुले जनाएका छन्।
यसैबीचमोरङमा १ सय , झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा ३, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र खोटाङमा २–२, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ का ठूला शहरहरूमा कोरोना संक्रमितको संख्या ज्यादा रहेको छ। विराटनगरमा ६३, उर्लाबारीमा १२, झापाको दमकमा २७, विर्तामोडमा १४, सुनसरीको इटहरीमा ३३, धरानमा ३१ जनामा कोरोना संक्रमण भएको छ।
प्रदेश १ मा कोरोना सक्रिय संक्रमितको संख्या २२ हजार ५ सय १३ पुगेको छ। यसैगरी प्रदेश १ मा मंगलबार ५ सय १६ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट ५ सय १०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय १५ पुगेको छ। प्रदेश १ मा मंगलबार १ हजार १ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ। प्रदेश १ मा हालसम्म १ लाख ७३ हजार ६ सय ७४ जनाको पीसीआर परीक्षण गरिसकिएको मन्त्रालयले जनाएको छ।
कात्तिक २५, २०७७ मंगलबार १७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।