आइपिएल फाइनल आज, कसले जित्ला उपाधि ? 

आइपिएल फाइनल आज, कसले जित्ला उपाधि ? 
ट्रफीका साथ मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा र दिल्ली क्यापिटलका कप्तान श्रेयस ऐयर (दायाँ)। तस्बिर : इनसाइड स्पोर्टस डट को।

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधिका लागि आज (मंगलबार) साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल प्रतिष्पर्धा गर्दै छन्। 

संयुक्त अरब इमिरेट्स (युएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको फाइनलमा मुम्बई पाँचौं उपाधि जित्ने लक्ष्यमा रहँदा दिल्ली पहिलो पटक ट्रफी घर लैजाने दाउमा हुनेछ। 

यस्तोमा मुम्बईले उपाधि दोहोर्याउला कि दिल्ली नयाँ विजेता बन्ला? आम क्रिकेटप्रेमीमाझ चासो छ।

क्रिकेट विज्ञ र खेलप्रेमीले विभिन्न अड्कलबाजी गरिरहेका छन्। कसैले मुम्बईले उपाधि दोहोर्याउने अनुमान लगाएका छन् भने कसैले दिल्लीले। यद्यपि, यसको छिनोफानो खेलपछि मात्रै हुनेछ। 

जारी सिजनमा प्रदर्शनका आधारमा मुम्बईको पल्ला भारी देखिन्छ। 

मुम्बईले ब्याटिङ र बलिङमा राम्रो प्रदर्शन गरिरहेको छ। ब्याटिङमा क्विन्टन डि कक, सूर्यकुमार यादव, इसान किसन, हार्दिक पाण्ड्या, क्यारोन पोलार्ड फर्ममा छन्। तीमध्ये डि कक, किसन र यादव जारी सिजनमा सबैभन्दा बढी रन बनाउने खेलाडी सूचीको शीर्ष ८ मा छन्। 

यस्तै, पोलार्ड र पाण्ड्या भने सर्वाधिक स्ट्राइक रेटमा ब्याटिङ गर्ने खेलाडीको शीर्ष दुईमा छन्। पोलार्डको स्ट्राइक रेट १९०.४४ छ। उनले १५ खेलका ११ इनिङबाट २५९ रन बनाएका छन्। पाण्ड्याको स्ट्राइक रेट भने १८२.८९ छ। उनले १३ खेलका १२ इनिङबाट २७८ रन बनाएका छन्। 

पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्न नसकेका कप्तान रोहित शर्मा सुरुवाती खेलमा चलेका थिए। उनी पनि एक्लैले टिमलाई जिताउने क्षमता राख्छन्। 

मुम्बईको बलिङ पनि उत्तिकै सशक्त छ। जसप्रित बुमराह र ट्रेन्ट बोल्डको आक्रामक बलिङसामु जो कोहीलाई पनि टिक्न सजिलो देखिँदैन। 

तर, दिल्लीको टोलीलाई पनि कम आँक्न मिल्दैन। ऊसँग पनि ‘म्याच विनर’को कमी छैन। शिखर धवन, माकर्श स्टोइनिस, सिमरोन हेटमायर र कागिशो रवाडा विपक्षीबाट जित खोस्न सक्ने क्षमता राख्छन्। 

शिखरले जारी सिजनमा ६ सयभन्दा बढी रन बनाइसकेका छन्। जारी सिजनमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी दोस्रोमा छन्। कप्तान श्रेयस ऐयरको प्रदर्शन पनि ठिकठाकै छ। जारी सिजनमा उनले चार सयभन्दा बढी रन बनाएका छन्। 

बलिङमा दिल्लीका रवाडाको प्रदर्शन उच्च छ। जारी सिजनमा उनले सर्वाधिक २९ विकेट लिएका छन्। 

दिल्लीको टोलीमा रहेका अर्का बलर एनरिच नोर्टजेको प्रदर्शन पनि राम्रो छ। जारी सिजनमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा आठौं स्थानमा रहेका उनले १५ खेलबाट २० विकेट लिइसकेका छन्। 

अनुभव छ मुम्बईसँग 

मुम्बईलाई अनुभवी कप्तानको फाइदा पनि छ। कप्तान रोहित शर्माको नेतृत्वमा मुम्बईले चार पटक उपाधि जितिसकेको छ। त्यसकारण मुम्बईलाई फाइनलको दबाब व्यवस्थापन गर्न केही सहज हुने जानकार बताउँछन्। 

पहिलो पटक फाइनल खेल्न लागेका दिल्लीका कप्तान श्रेयस ऐयरसँग दबाब व्यवस्थापनको अनुभव नभए पनि युवा जोश छ। 

हेड टु हेड नतिजामा पनि मुम्बई अघि 

यी दुवै टोलीबीचको हेड टु हेड नतिजामा भने मुम्बई अघि देखिन्छ। मुम्बईले यी दुवै टोलीबीचका २७ खेलमध्ये मुम्बईले १५ खेल जितेको छ। दिल्लीले भने १२ खेलमा मात्रै सफलता हासिल गरेको छ। जारी सिजनमा यी दुई टोलीबीच भएका तीन वटै खेल मुम्बईले जितेको थियो। 

प्रदर्शन नतिजा जे जस्तो भए पनि राम्रो खेल्ने टिमले नै उपाधि जित्नेमा दुईमत छैन। 
 

कात्तिक २५, २०७७ मंगलबार ०९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।