व्यवसायीलाई चुनाव लाग्यो, उम्मेदवार देश दौडाहामा

व्यवसायीलाई चुनाव लाग्यो, उम्मेदवार देश दौडाहामा

काठमाडौं : नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ यति बेला ५४ औं वार्षिक साधारणसभाको तयारीमा व्यस्त छ। 

मंसिर १० देखि १३ गतेसम्म सञ्चालन हुने साधारणसभाले आगामी नेतृत्वसमेत छान्ने भएकाले छुट्टाछुट्टै दुई समूह प्यानलसहित उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन्।

बढ्दो कोरोना संक्रमणबीच सुरक्षित वातावरणमा साधारणसभा सम्पन्न गराउनु नै चुनौतीपूर्ण बनेका बेला चुनावी प्रचार प्रसारका कारण समस्या झनै थपिने आकलनसहित महासंघका पूर्वअध्यक्षहरु भने सहमति निर्माण गर्नतिर लागेका छन्। 

चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छानिँदा राज्यसँग लबिङ गर्ने क्षमतासमेत घट्ने उनीहरुको बुझाइ छ। कोरोनाका कारण थलिएका उद्योग व्यवसायलाई पुनः गति दिन उपयुक्त सुविधाका लागि अबको नेतृत्वले सरकारसँग विशेष लबिङ गर्नुपर्ने निष्कर्षमा उद्योगी व्यवसायी पुगिसकेका छन्।

महासंघमा एक कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेको व्यक्ति त्यसपछिको कार्यकालमा स्वतः अध्यक्ष बन्ने विधान छ। 

त्यसैले साधारणसभाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहितका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु निर्वाचन गर्छ। वरिष्ठ उपाध्यक्ष बन्ने प्रतिस्पर्धामा यति बेला वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा देखिएका छन्। उनीहरु आआफ्ना प्यानल नै खडा गरेर प्रचार प्रसारमा जुटेका छन्।

अहिले महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी उम्मेदवार अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले उनीहरुका लागि यो प्रतिस्पर्धाले बढी महत्व पाएको हो।

ढकालको प्यानलमा वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल प्रधान, जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघई उम्मेदवारका रुपमा देखिएका छन्। 

यस्तै प्रधानको प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला तथा तगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा शौरभ ज्योति प्रतिस्पर्धामा छन्।

महासंघको आगामी कार्यकालका लागि अध्यक्ष भने शेखर गोल्छा बन्नेछन्। उनी वर्तमान कार्यकालको वरिष्ठ उपाध्यक्ष हुन्। 

उम्मेदवार देश दौडाहामा

राजधानी काठमाडौंमा उम्मेदवारी घोषणा गरेर ढकाल र प्रधान यतिबेला चुनाव प्रचारका लागि देश दौडाहामा छन्। 

दुई दिनअघि ढकालको टोली सुदूरपश्चिमका उद्योगी व्यवसायीलाई भेट्न धनगढी पुगेको थियो भने प्रधानको टोली सोमबार प्रदेश २ का उद्योगी व्यवसायीलाई भेट्न जनकपुर पुगेको छ। प्रधानको टोलीले बुटवल हुँदै काठमाडौं फर्किने योजना बनाएको छ।

सहमतिका लागि प्रयास जारी

उम्मेदवारी घोषणा गरेर ढकाल र प्रधानको प्यानल चुनाव प्रचारमा जुटिसकेको भए पनि एउटा समूह भने सहमति गराई सर्वसम्मत नेतृत्व छान्ने प्रयास गर्दैछ। 

वरिष्ठ उपाध्यक्षका दुई प्रतिस्पर्धीबीच सहमति गराउने योजना बनाउन केही दिनअघि पूर्वअध्यक्षहरुको बैठक नै बसेको थियो। 

सो अनौपचारिक बैठकले सहमति जुटाउने जिम्मा रविभक्त श्रेष्ठ र महेशलाल श्रेष्ठलाई दिएको थियो। जिम्मा पाएपछि उनीहरुले सहमति जुटाउने प्रयास गर्दैआएका छन्।

उम्मेदवारहरु चुनावी प्रचारमा जुटिसकेका बेला सहमति सम्भव होला र भन्ने जिज्ञासामा श्रेष्ठद्वयले अन्तिम समयसम्म पनि सहमतिको सम्भावना रहने भएकाले आफूहरु त्यहीअनुसार प्रयासरत रहेको बताएका छन्। 

तिहारलगत्तै वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवारलाई सँगै राखेर सहमतिको प्रयास गर्ने उनीहरुको तयारी छ।

महासंघले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन मंसिर ४ लाई तोकिएको छ। 

मंसिर ११ गते साधारणसभा उद्घाटन हुनेछ भने १२ गते बन्द सत्र भई १३ गते मतदानको कार्यक्रम तय भएको छ।

कोरोना संक्रमणको डर

चुनाव प्रचार तीव्र बन्दै गर्दा कोरोनाको त्रासले प्रतिनिधि तथा महासंघका पदाधिकारीलाई समेत चिन्तित बनाएको छ। 

साधारणसभामा भाग लिन जिल्ला जिल्लाबाट प्रतिनिधि काठमाडौं आउनुपर्छ। काठमाडौं यति बेला कोरोनाको ‘हट स्पट’ बनेको छ। 

त्यसैले संक्रमणको चिन्ता बढाएको निवर्तमान उपाध्यक्ष पशुपति मुरारकाले बताएका छन्। त्यसैले पनि सहमतिमा चुनाव नहुने वातावरण बनाउन प्रयास गर्नुपरेको उनले स्पष्ट पारे।

महासंघको साधारणसभामा देशभरबाट गरी झन्डै चार सय ५० प्रतिनिधि सहभागी हुनेछन्। त्यस्तै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कार्यकारिणी सदस्य गरी ६० जनाभन्दा बढी उम्मेदवार रहनेछन्।

त्यसो त प्रधान समूहबाट एसोसिएटतर्फको उपाध्यक्षका लागि उम्मेदवार बनेका शौरभ ज्योति कोरोना संक्रमणमा परिसकेका छन्।

उनको प्यानलका अरु उम्मेदवार चुनाव प्रचारमा जुट्दा ज्योति भने आइसोलेसनमा उपचाररत छन्।

महासंघको ५४ औं साधारणसभा गत चैतमै सम्पन्न हुनुपथ्र्यो। कोरोना संक्रमण सुरु भएकै कारण साधारणसभा पनि सरेर मंसिरमा पुगेको हो। 

यसअघि जेठ र साउनमा साधारणसभा गर्ने तयारी भए पनि कोरोनाकै कारण सम्भव भएन। कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ देखि मुलुकभर लकडाउन घोषणा गरेको थियो।
 

कात्तिक २४, २०७७ सोमबार १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।