दिल्ली पहिलो पटक फाइनलमा

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल पहिलो पटक फाइनलमा पुगेको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा आइतबार राति सम्पन्न दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले हराउँदै दिल्लीले फाइनल यात्रा तय गरेको हो।
दिल्लीले अब यही मंगलबार मुम्बई इण्डियन्ससँग फाइनल खेल्नेछ। मुम्बई यसअघि पहिलो क्वालिफायरमा दिल्लीलाई हराउँदै फाइनल पुगिसकेको छ।
१९० रनको लक्ष्य पछ्याएको हैदरावाद निर्धारित ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो। हैदरावादका लागि केन विलियम्सनले सर्वाधिक ६७ रन जोडे। यस्तै, अब्दुल सामदले आक्रामक ३३ रन बनाए। १६ बल खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे।
बलिङमा दिल्लीका कागिशो रवाडाले सर्वाधिक ४ विकेट लिए। यस्तै, मार्कश स्टोनिसले ३ र अक्षर पटेलले १ विकेट चट्काए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको दिल्लीले निर्धारित ओभरमा ३ विकेट गुमाएर १८९ रन जोडेको थियो। उसका लागि शिखर धवनले सर्वाधिक ७८ रन जोडे। यस्तै, मार्कश स्टोनिसले ३८ र कप्तान श्रेयस ऐयरले २१ रन बनाए। सिमरोन हेटमायर भने ४२ रनमा अविजित रहे।
बलिङमा हैदरावादका रासिद खान, सन्दीप शर्मा र जेसन होल्डरले समान १ विकेट लिए।
खेलको म्यान अफ दि म्याच स्टोनिस घोषित भए।
कात्तिक २४, २०७७ सोमबार ००:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।