फाइनलमा पुग्ला दिल्ली ?

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आज दोस्रो क्वालिफायरमा नेपाली लेग स्पिनर सन्दीप लामिछाको टोली दिल्ली क्यापिटलले सनराइजर्स हैदरावादको सामना गर्दैछ।
संयुक्त अरब इमिरेट्स (युएई)मा हुन लागेको खेलको विजेता प्रतियोगिताको दोस्रो फाइनलिस्ट बन्नेछ। त्यसैले दुवै टोली हरहालतमा जित निकाल्ने दाउमा हुनेछन्।
तर, जित निकाल्न दुवै टोलीलाई सहज छैन। जारी सिजनमा दुवै टोलीको प्रदर्शन समान भएकाले खेल प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको छ।
जारी सिजनमा समान १५ खेल खेलेका यी दुवै टोलीले समान ८ खेलमा जित हासिल गरेका छन्। दिल्लीले लिग चरणका १४ खेलमध्ये ८ खेलमा सफलता हासिल गरेको थियो। यस्तै, प्लेअफअन्तर्गत पहिलो क्वालिफायरमा ऊ मुम्बई इण्डिन्ससँग पराजित भएको थियो। हैदरावाद भने लिग चरणका ७ खेल र प्लेअफअन्तर्गत इलिमिनेटरमा जित हासिल गरेको थियो।
जारी सिजनमा दुवै टोलीको नतिजा समान भए पनि पछिल्लो प्रदर्शनका आधारमा हैदरावादको तुलनामा दिल्ली कमजोर देखिन्छ।
दिल्लीले पछिल्ला ५ खेलमध्ये एकमा मात्रै जित निकाल्न सकेको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा उसले रोयल च्यालेन्जर्स बैंग्लोरसँग जित निकालेको थियो। त्यसअघि ऊ क्रमशः किंग्स इलेभन पञ्जाब, कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदरावाद र मुम्बई इण्डियन्ससँग लगातार पराजित भएको थियो।
यस्तै, प्लेअफअन्तर्गत पहिलो क्वालिफायरमा उसले मुम्बईसँग हार व्यहोरेको थियो। उक्त खेल हारे पनि दिल्लीले फाइनल पुग्ने अर्काे अवसर पाएको हो।
आइपिएलमा पहिलो क्वालिफायर जित्ने टोली सिधै फाइनल पुग्छ भने पराजित टोलीले फाइनल पुग्न इलिमिनेटरको विजेतासँग प्रतिष्पर्धा गर्नु पर्ने हुन्छ।
यता हैदरावाद भने पछिल्ला चार खेलमा अपराजित छ। उसले लिग चरणका आफ्ना अन्तिम तीन खेलमा दिल्ली, बैंग्लोर र मुम्बईलाई पराजित गरेको थियो। यस्तै, इलिमिनेटरमा बैंग्लोरसँग पुनः जित हासिल गरेको थियो।
जारी सिजनमा हेड टु हेड नतिजामा हैदरावाद दिल्लीभन्दा अघि छ। उसले दिल्लीविरुद्धका दुई ओटै खेलमा जित हासिल गरेको छ।
पछिल्लो प्रदर्शन र हेड टु हेड नतिजामा हैदरावाद अघि भए पनि उसले नै आजको खेल जित्छ भनेर ठोकुवा गर्न सकिँदैन।
कात्तिक २३, २०७७ आइतबार १४:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।