क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई महानगरको ३० लाख अनुदान 

क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई महानगरको ३० लाख अनुदान 

काठमाडौं : काठमाडौं महानगरपालिकाले क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि ३० लाख रूपैयाँ अनुदान दिएको छ।

२०१३ सालमा स्थापना भई ‘कोर–सिटी’का नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो चिकित्सालयलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा उक्त रकम सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

महानगरपालिकाका सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा र चिकित्सालयका तर्फबाट डा. अध्यक्ष मनोजमान श्रेष्ठले सो सम्झौतापत्रमा हस्ताक्षर गरे। 

सम्झौतापत्रमा हस्ताक्षरपछि सम्बोधन गर्दै महानगरपालिकाले प्रमुख शाक्यले  ‘कोर–सिटी’का करिब तीन सय नागरिकलाई दैनिक सेवा प्रवाह गर्दै आएको निःशुल्क चिकित्सालयलाई आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको बताए। 

‘जनस्तरमा खुलेको र जनताकै सेवामा समर्पित चिकित्सालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ,’ शाक्यले भने,  ‘थप सेवा प्रवाह र चिकित्सालयको उन्नतिका लागि जनताको पनि अपनत्व महसुस गराउन जनसहभागिताबाट समेत सहयोग रकम जुटाउनुहोला। थप आर्थिक सहयोगका लागि काठमाडौं महानगरपालिका तयार छ।’ 

प्रमुख शाक्यले चिकित्सालयको थप नयाँ भवन निर्माणका लागि आर्थिक वर्ष २०७७÷०७८ मा पाँच करोड रूपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका थिए।

 ‘काठमाडौं महानगरपालिका क्षेत्रमा ठूला–ठूला राष्ट्रियस्तरका अस्पताल छन्। ती अस्पतालमा ७७ वटै जिल्लाका नागरिकले सेवा लिइरहेका हुन्छन्,’ शाक्यले भने, ‘तर, यो ‘कोर–सिटी’मा अवस्थित चिकित्सालयबाट यहाँका नागरिकले बढी सेवा लिइरहेका छन्। महानगर क्षेत्रका नागरिकलाई भरपर्दो सेवा दिन यस्ता अस्पतालको बढी महत्त्व हुन्छ। तपाईंहरूले पनि त्यो महसुस हुने गरी काम गर्नुहोला। सहयोग गर्न महानगरपालिका तयार छ।’  

शाक्यले काठमाडौं महानगरपालिका कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री चरणबद्ध रूपमा सरकारी अस्पतालहरूलाई हस्तान्तरण गर्दै आएको बताए।

अध्यक्ष डा. श्रेष्ठले चिकित्सालयलाई समयानुकूल विस्तार गर्दै र अत्याधुनिक सेवा प्रवाह गर्दै जाने चरणमा रहेका बेला महानगरको सहयोग अतुलनीय  रहेको बताए। उनले कोरोना भाइरसको संक्रमण भयावह भइरहेका बेला पनि चिकित्सालयले नागरिकको घर–दैलोमा नै पुगेर सेवा प्रदान गरिरहेको जानकारी दिए। उनका अनुसार चिकित्सालयबाट मुटु, स्वासप्रश्वास, दन्त सेवा लगायतका विशेषज्ञ स्वास्थ्य सेवा प्रदान भइरहेको छ। 

महानगरले यसअघि थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीर अस्पताललाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण परीक्षणका लागि पिसिआर मेसिन सहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको थियो।

कात्तिक २२, २०७७ शनिबार १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।