हैदरावाद दोस्रो क्वालिफायरमा

काठमाडौं : सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो क्वालिफायरका लागि छनोट भएको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा शुक्रबार अबेर राति सम्पन्न इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले हराउँदै हैदरावाद दोस्रो क्वालिफायरका लागि छनोट भएको हो।
अब हैदरावादले फाइनल प्रवेशका लागि दिल्ली क्यापिटलको सामना गर्नेछ। खेल आगामी आइतबार हुनेछ।
यसअघि पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएको दिल्ली दोस्रो क्वालिफायर खेल्न लागेको हो।
शुक्रबार सम्पन्न खेलमा १३२ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा जित हासिल गर्याे। उसका लागि केन विलियम्सन अविजित रहँदै ५० रन जोडे। यस्तै, जेसन होल्डर २४ रनमा अविजित रहे। यसैगरी, मनिष पाण्डेले २४ र कप्तान डेभिड वार्नरले १७ रनको योगदान दिए।
बलिङतर्फ बैंग्लोरका मोहम्मद सिराजले २ तथा एडम जम्पा र युजबेन्द्र चहलले समान १ विकेट चट्काए।
त्यसअघि टस हारेर ब्याटिङ थालेको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो। उसका लागि एभी डिभिलियर्सले सर्वाधिक ५६ रन बनाएका थिए। यस्तै, आरोन फिन्चले ३२ र मोहम्मद सिराजले १० रन जोडेका थिए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेका थिएनन्।
बलिङतर्फ हैदरावादका जेसन होल्डरले सर्वाधिक ३ विकेट लिएका थिए। यस्तै, टि नटाराजनले २ तथा शाहवाज नदिमले १ विकेट चट्काएका थिए।
खेलको म्यान अफ दि म्याच विलियम्सन घोषित भए।
कात्तिक २२, २०७७ शनिबार ०१:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।