सुन र हुण्डीको रकमसहित भारतीय पक्राउ

विराटनगर : विराटनगरस्थित नेपाल भारत सीमा क्षेत्रबाट तस्करीको सुन र हुण्डीको रकमसहित भारतीय पक्राउ परेका छन्।
सुनका गहना र अवैध हुण्डीको रकम बोकेर नेपालतर्फ आउँदै गरेको अवस्थामा विराटनगर–१७, इस्लामपुरबाट एक जना भारतीयलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले पक्राउ गरेको हो।
भारतीय नागरिक दीपककुमार भगतलाई साढे २४ तोला सुनको गहना र हुण्डीको अवैध ६ लाख ६२ हजार ६ सय ५० रूपैयाँसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। भारतको अररिया जिल्लाको जोगवनी नगर पञ्चायत–१३ का भगतलाई बिहीबार साँझ अवैध सुनसहित पक्राउ गरिएको हो।
भगतको साथबाट २ सय ८९.४४० ग्राम सुनको गहना बरामद गरिएको थियो। सशस्त्र प्रहरीले उनको साथबाट लकेट ३७ थान, हातमा लगाउने ब्रास्लेट ४ थान, झुम्का १० थान, चुरा २ थान र मोबाइल एक थान बरामद गरेको सशस्त्र प्रहरी बल, मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) तीर्थ पौडेलले जानकारी दिए।
भगतले सुनको गहना अन्डरवेयरभित्र र कम्बरमा पटुका बाँधेर लुकाएको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यसैगरी जुत्ताभित्रको मोजामा टेपले बाधेर ६ लाख ६२ हजार ६ सय ६२ रूपैयाँसमेत बरामद गरिएको थियो।
बरामद भएको सुन गरगहना र नगदसहित पक्राउ परेका अभियुक्तलाई आवश्यक कारवाही र अनुसन्धानको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।
कात्तिक २१, २०७७ शुक्रबार २२:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।