मुम्बई इण्डियन्स छैटौं पटक फाइनलमा

संयुक्त अरब इमिरेट्स (युएई)मा बिहीबार राति भएको आइपिएलको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटललाई ५७ रनले पराजित गर्दै मुम्बईले छैटौं पटक फाइनल यात्रा तय गरेको हो।
यसअघि सन् २०१०, २०१३, २०१५, २०१७ र २०१९ मा आइपिएलको फाइनल पुगेको मुम्बईले चार पटक आइपिएलको उपाधि जितिसकेको छ। उसले २०१३, २०१५, २०१७ र २०१९ मा आइपिएलको उपाधि जितेको थियो।
मुम्बईको यो लगातार दोस्रो फाइनल हो। मुम्बईले अब आगामी मंगलबार हुने फाइनलमा दोस्रो क्वालिफारको विजेतासँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ।
त्यसअघि दोस्रो क्वालिफायरमा दिल्ली र इलिमिनेटरको विजेता खेल्नेछन्। उक्त खेलअघि इलिमिनेटरमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोरबीच भिडन्त हुनेछ।
बिहीबार सम्पन्न पहिलो क्वालिफायरमा २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो।
सुरुवाती तीन ब्याट्सम्यानलाई शून्यमा गुमाएको दिल्लीको इनिङ मार्कस स्टोनिस र अक्षर पटेलले सम्हाल्ने प्रयास गरे पनि टोलीलाई जिततर्फ डोर्याउन सकेनन्। स्टोनिसले ६५ रन बनाउँदा पटेलले ४२ रनको योगदान दिए।
दिल्लीको सुरुवाती क्रमलाई जसप्रित बुमराह र ट्रेन्ट बोल्टको जोडीले ध्वस्त बनाए। उनीहरूले सुरुवाती दुई ओभरमा तीन विकेट चट्काए। बुमराहले कूल चार विकेट लिए। यस्तै, बोल्टले दुई तथा कुर्णाल पाण्ड्या र क्यारोन पोलार्डको नाममा समान एक विकेट रह्यो।
त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको मुम्बईले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो।
खेलको दोस्रो ओभरमै कप्तान रोहित शर्मालाई शून्य रनमै गुमाएको मुम्बईले सम्हालिएर खेलेको थियो। उसका लागि इसान किसनले अविजित रहँदै ५५ रन जोडेका थिए। यस्तै, सूर्यकुमार यादवले ५१ र क्विन्टन डि ककले ४० रन बनाउँदा हार्दिक पाण्ड्या ३७ रनमा अविजित रहेका थिए। उनले साढे दुई सयभन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका थिए।
बलिङतर्फ दिल्लीका रविचन्द्र अश्विनले सर्वाधिक ३ विकेट लिँदा मार्कस स्टोनिस र एनरिच नोर्टजेले समान १ विकेट चट्काएका थिए।
खेलको म्यान अफ दि म्याच बुमराह घोषित भए।
कात्तिक २१, २०७७ शुक्रबार ००:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।