रगतको अभाव : बुटवलमा आकस्मिक रक्तदान

भैरहवा : रगतको अभाव हुँदै गएपछि रुपन्देहीको बुटवलमा आकस्मिक रक्तदान गरिएको छ।
नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीले रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रगतको मौज्दात कम भएपछि बुधबार आकस्मिक रक्तदान कार्यक्रम गरेको हो।
‘कोरोनाको संक्तमण बढ्दो छ। यसको डरले मानिसले रक्तदान गर्न आउनै डराउँछन्। यस्तो बेला रगतको मौज्दात कम भएपछि अत्यावश्यक रगत चाहिएमा नपाउँदा नागरिकको ज्यानै जाने खतार हुन्छ। त्यसैले हामीले बुटवलमा आकस्मिक रुपमा रक्तदान गरेका हौं’, समाज रुपन्देहीका कार्यसमिति सदस्य आकाश पन्थले भने।
कार्यक्रममा ३० जनाले रक्तदात तथा ४ जनाले प्लाज्मा दान गरेको संस्थाले जनाएको छ। कोरोना भाइरस संक्रमणको महामारी र चाडपर्वका कारण नियमित रुपमा रक्तदान कार्यक्रमहरु हुन सकेका छैनन्।
जसका कारण रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) बुटवलमा रगतको मौज्दात कम भएको रक्त सञ्चार सेवा केन्द्र बुटवलले जनाएको छ।
नेपाल रेडक्रस शोसाईटी रुपन्देही शाखाले सञ्चालन गरेको बुटवलको रक्त सञ्चार सेवा केन्द्रमा सरदर ५ सय युनिट रगत मौज्दात रहने गर्दथ्यो।
रक्त सञ्चार सेवा केन्द्र बुटवलकी प्राबिधिक राधा ज्ञवालीका अनुसार त्यस्तै दैनिक पनि सरदर सय युनिट रगत संकलन भइनै रहन्थ्यो।
अहिले कोरोना भाइरस महामारी र यसकै बीचमा परेका चाडपर्वका कारण रक्तदानका कार्यक्रम पनि नियमित रुपमा हुन सकेका छैनन्।
एकातिर रगतको मौज्दात कम छ, त्यसमा पनि ‘ए’ पोजिटिभ र ‘एबी’ पोजिटिभ समूहको रगतको मौज्दात एकदमै कम रहेको उनले बताइन्।
कात्तिक १९, २०७७ बुधबार १६:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।