दिपावली र छठ नजिकिएसँगै माटाका भाडाको बिक्री बढ्यो

महोत्तरी : तराई मधेसमा हर्सोउल्लासकासाथ मनाईने पर्व दिपावली र छठ नजिकिएसंगै प्रदेश २ का प्रमुख व्यावसायीक केन्द्र तथा ग्रामीण क्षेत्रमा लाग्ने हाटबजारहरुमा माटोका भाडावर्तन बिक्री बढेको छ।
प्रदेश २ का आठै जिल्लामा लाग्ने साप्ताहिक हटियाहरुमा अहिले माटोका भाडा वर्तनको बिक्री बृद्धि भएको हो।
ग्रामीण क्षेत्रमा माटोको भाडा वर्तन टाउँमा बोकेर बिक्री गर्नेहरुको गाउँगगाउँ धृलाग्न थालेको छ।
दिपावलीमा आवश्यक पर्ने माटोको दिप(दिवौरी) र छठमा अर्घ दिन आवश्यक पर्ने कोसिया, कुरवार, हाती, घैटो, ढकना लगायतका माटाका भाडावर्तनको माग बढेकोे रतवाडाका कुमाहार सत्रुधन पंडितले बताए।
तिहार र छठ पर्वमा अनिवार्यरुपमा माटोका नयाँ भाडावर्तन प्रयोग गर्ने चलनका कारण अहिले बजारहरुमा माटाका भाडावर्तन खरिद गर्न आउनेहरुको बढेको पंडितले बताए।
पंडितका अनुसार पर्व जति जति नजिकिदै जान्छ खरिद गर्न आउनेहरुको संख्या पनि उतिकै बढदै जानेछ।
मिथिला परम्परामा भव्यताकासाथ मनाईने प्रमुख पर्व दिपावली र छठमा माटोको नयाँ भाडावर्तन अनिवार्यजस्तै मानिदै आएकाले प्रदेश २ का सबैजसो बजारमा यसको बेग्लै बजार जमेको देख्न सकिन्छ।
मुख्य व्यापारिक केन्द्रहरुमा लाग्ने हटियाहरुमा अहिले दर्जनौको संख्यामा माटाका भाडावर्तन बिक्रि गर्नेहरुले पसल थापेको र खरिद गर्नेहरुको भिड बढेको देख्न सकिन्छ ।
मिथिला क्षेत्रमा माटोका नयाँ भाडा वर्तन शुभकार्य गर्न उत्तम हुने सामाजिक मान्यताले चाडपर्वमा यसको माग बढने गरेको माटोको भाडावर्तन वनाउने कुम्हारहरु बताउँछन।
एक साताको अन्तरालमै माटोको भाडावर्तन बिक्री गरेर राम्रो आम्दानी समेत गरेको जलेश्वर नगरपालिका १३ धवौलिका रामभरोसि पंडितले बताए।
माटोका भाडा वर्तनको विक्री भएसंगै कुम्हालेहरुलाई भ्याई नभ्याई छ। मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटोका भाँडा दैनिक प्रचलनमा रहे पनि पछिल्ला वर्षहरु प्लास्टिकका भाडावर्तनको प्रयोग बढेकाले आफूहरुको व्यवसाय चाडपर्व विशेषमामात्रै चल्ने गरेको जलेश्वर १३ धवौलिका कुम्हार काशिराम पंडित बताउँछन।
अहिलेको कमाइले सालभरिको नगद खर्चाे जोहो गर्नुपर्ने हुँदा काम गर्न भ्याइनभ्याई भएको पंडितको कथन छ।
तिहार र छठ पर्वका अवसरमा प्रदेश भरिमा एक करोड भन्दा बढीको माटाका भाँडाको कारोबार हुने गरेको जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहले बताए।
कात्तिक १७, २०७७ सोमबार १२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।