पञ्जाबको प्लेअफ लक्ष्यमा चेन्नई बन्यो बाधक 

पञ्जाबको प्लेअफ लक्ष्यमा चेन्नई बन्यो बाधक 
चेन्नई सुपर किंग्सविरुद्ध टिमको प्रदर्शनपछि निरास किंग्स इलेभन पञ्जाबका कप्तान केएल राहुल। तस्बिर : आइपिएल टि २० डट कम। 

काठमाडौं : किंग्स इलेभन पञ्जाब इण्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफको दौडबाट बाहिरिएको छ। 

संयुक्त अरब इमिरेट्स (युएई)मा आज (आइतबार) सम्पन्न लिग चरणको आफ्नो अन्तिम खेलमा चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित भएपछि पञ्जाब प्लेअफमा पुग्न नसकेको हो। 

प्लेअफको दौडमा रहन अंकतालिकामा कम्तीमा १४ रन आवश्यक थियो। यसका लागि पञ्जाबलाई चेन्नईविरुद्धको जित आवश्यक थियो। तर, नतिजा पञ्जाबको पक्षमा भएन। र, ऊ अंकतालिकामा १२ अंकमै सीमित बन्यो। 

लिग चरणका सबै (१४) खेलमध्ये ६ खेलमा जित र ८ मा पराजय भोगेको पञ्जाब अंकतालिकामा पाँचौं स्थानमा छ। 

यसअघि नै प्लेअफबाट बाहिरिसकेको चेन्नई भने समान अंक बटुल्दै अंकतालिकाको सातौं स्थानमा छ। ऊ रनरेटका आधारमा पञ्चाबभन्दा पछि परेको हो। 

जारी सिजनको लिग चरणका दुई खेल मात्रै बाँकी रहँदा मुम्बई १८ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। समान १४ अंक बटुलेका रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटल अंकतालिकामा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। 

यस्तै, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स क्रमशः चौथो, छैटौं र आठौं स्थानमा छन्। समान १२ अंक हासिल गरेका उनीहरू रनरेटका आधारमा अघिपछि छन्। यी सबै टोलीले लिग चरणको अन्तिम खेल खेल्न बाँकी छ। 

पञ्जाबले दिएको १५४ लक्ष्य चेन्नईले १८.५ ओभरमै १ विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो। 

आज हुने अर्काे खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स प्रतिष्पर्धा गर्दैछन्।  

क्रिकइन्फो डट कम

कात्तिक १६, २०७७ आइतबार १९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।