श्रम शोषणको विरोधमा जानकी मेडिकल कलेजका दुई कर्मचारी आमरण अनसनमा

श्रम शोषणको विरोधमा जानकी मेडिकल कलेजका दुई कर्मचारी आमरण अनसनमा

जनकपुरधाम : कलेज व्यवस्थापनले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै धनुषाको जानकी मेडिकल कलेज शिक्षण अस्पतालका दुई जना कर्मचारी आइतबारदेखि आमरण अनसन सुरु गरेका छन्।
 

कलेज प्रशासनविरुद्ध कर्मचारीद्वय जानकीशरण यादव र कुलदिप साहले आमरण अनसन शुरु गरेका हुन्।

कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले यसअघि कलेज प्रशासनले विगतमा गरेका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै उनीहरु आमरण अनसनमा बसेको जानकारी दिए।

सम्झौता कार्यान्वयन नभएको भन्दै गत असोज १२ गतेदेखि नै कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवाहरु ठप्प गरेका छन्। 

कलेजले आफुहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दसैं खर्च र नियमित तलब भत्ता दिनुपर्नेलगायतका मागहरु राख्दै उनीहरुले एक महिनादेखि धर्नामासमेत दिइरहेका छन्।

अस्पताल पक्षले विगतमा पटक–पटक गरेका सहमतिहरु कार्यान्वयन नगरी उल्टै प्रहरी प्रशासन लगाएर आफुहरुलाई धम्काउने गरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको संयोजक यादवले बताए।

भदौ १५ गते उनीहरुले कलेजको शैक्षिक प्रशासनमा तालाबन्दीसमेत गरेका थिए। भदौ २६ गते मेडिकल प्रशासनका वरिष्ठ अधिकृत दयानन्द झाले कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि ३१ गते दुबैपक्षबीच तीन बुँदे सहमति भएको थियो। 

असोज १ गतेदेखि कलेजको ताला खोली सेवा सूचारु गर्ने, असोज ४ गते हरहिसाब गर्ने र असोज ३० भित्र कर्मचारीको सबै समस्या समाधान गर्ने सहमति भएको थियो।

सहमति कार्यान्वयनकोसट्टा कलेज प्रशासनले संघर्ष समितिका संयोजक यादवलाई पूर्वाग्रही ढंगले असोज ११ गते स्पष्टीकरण सोधेपछि १२ गतेदेखि एक सय १५ जना कर्मचारी आकस्मिकबाहेकका सबै सेवा बन्द गरी निरन्तर धर्नामा बस्दै आएका थिए।

बक्यौता रकम तिर्नुको साटो कलेज व्यवस्थापकले धर्नामा बसेका ४० जना कर्मचारीमध्ये ५ जनालाई निलम्बनको पत्र थमाएको छ भने केहीलाई स्पष्टीकरण सोधेको छ। 

कलेजका प्रमुख प्रशासक झाले कर्मचारीहरुले जर्वजस्ती आन्दोलन गरेर कलेजलाई धरासायी बनाउदैँ लगेको आरोप लगाएका छन्। 

कर्मचारीहरुको राजनीतिले गर्दा कलेज धारासायी हुने अवस्थामा पुगेको उनको आरोप छ। ‘कर्मचारीको आन्दोलनका कारण कलेजको कामकाज प्रभावित हुँदै गएपछि विद्यार्थीबाट असुल हुने २७ करोड रुपैयाँसमेत असुल हुन सकेको छैन्’ झाले भने,‘कर्मचारीहरु अनावश्यक माग राख्दै आन्दोलनमा उत्रिएपछि विरामीको उपचार र अनलाइन कक्षासमेत ठप्प भएको छ।’

शिक्षण अस्पताल डेढ अर्ब रुपैयाँ ऋण भारमा रहेको अवस्थामा पनि कर्मचारीहरुको हकहितमा सोच्दै तलब भत्ता नियमित रुपमा दिँदै आएको झाले दाबी गरे।

उनका अनुसार कलेजले लकडाउन शुरु भएदेखि मासिक डेढ करोड रुपैयाँ क्षति व्यहोर्दै आएको छ।
 

कात्तिक १६, २०७७ आइतबार १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।