कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण अध्ययन सुरु

कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण अध्ययन सुरु

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माणको अध्ययन प्रारम्भ गरिएको छ।

संघीय उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह अध्ययनकाे शुभारम्भ गरेका हुन्।

संघीय सरकारले कञ्चनपुरको महाकाली नगरपालिका-१ मा रहेको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा करिब एक हजार बिगाहा क्षेत्रफलमा सुख्खा बन्दरगाह निर्माण गर्ने योजना अघि बढाएको थियो।

सुख्खा बन्दरगाहको शुभारम्भ गर्दै मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रको रुपमा देशभरी चार स्थानमा निर्माण गर्ने लक्ष्यका साथ कञ्चनपुरबाट शुरु गरिएको बताए।

उनले सुख्खा वन्दरगाह, औद्योगिक कोरिडोर, एकीकृत जाँच चौकीलगायतका पूर्वाधारहरू निर्माण हुने बताए।

उनले भने,‘कञ्चनपुरको दैजिक्षेला, अत्तरिया–धनगढी औद्योगिक कोरिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र, बांकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गरी अहिलेको सरकारले पुर्वदेखि पश्चिमसम्म औद्योगिक चेनको रुपमा विकास गर्ने लक्ष्य लिएको छ।’

दोधारा चाँदनीको कञ्जभोजमा सुख्खा बन्दरगाह निर्माणका लागि १२ किलोमिटर भारतको वन क्षेत्र पर्ने भएकाले भारतले सहमति गर्न नमानेको बताए।

मन्त्री भट्टले भने ‘मायापुरीमा सुख्खा बन्दगाह बनाउनका लागि अहिले भारतसमेत सहमत भइसकेको छ।’

कञ्चनपुरबाट भारतको नयाँ दिल्ली नजिक पर्ने भएकाले छोटो मार्गका मानिन्छ। मन्त्री भट्टले ‘एशियन हाइवे’सँग यस क्षेत्रलाई जोड्ने योजनासमेत रहेको बताए।

अध्ययन टोलीमा मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, औद्योगिक क्षेत्र लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत लगायतको टोली रहेको छ।

कात्तिक १६, २०७७ आइतबार १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।