दसैंभर चिनी अभाव : दसैंपछि बिक्री

दसैंभर चिनी अभाव :  दसैंपछि बिक्री

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का नारायण सत्याल दसैं अगाडी धनगढी उपमहानगरपालिकामा सञ्चालनमा रहेको सुपथ मूल्य पसलमा चिनी खरिद गर्न पुगे।

साल्ट साल्ट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालय धनगढीले चाडपर्वलाई लक्षित गरेर सुपथ मुल्य पसल सञ्चालन गरेको थियो। सत्यालले पसलमा चिनी मागे, तर पसलमा चिनी थिएन। उनी रित्तै फर्किए।

उनी भन्छन्,‘सुपथ मूल्य पसलमा बजार मूल्यभन्दा केही कम मुल्यमा चिनी पाइन्छ भनेर खरिद गर्न गएको थिए,तर पसलान चिनी थिएन।’ 
वडा नम्बर १ का दीपक ओली पनि दसैं अगाडि दुई पटक सुपथ मूल्य पसलमा चिनी खरिद गर्न गए, तर उनले पनि चिनी पाएनन्। उनले भने, ‘पहिलो दिन भोली आउछ भन्यो। दोस्रो दिन जादा पनि चिनी पाइएन।’

साल्ट्रेडिङ कर्पोरेशनले दसैं तिहारलाई लक्षित गरेर सञ्चालन गरेको सुपथ मुल्य पसलमा चामल, नुन र चिनी, चिउरा लगायतका खाद्य सामग्री उपलब्ध हुने जनाएको थियो।

सुपथ मूल्य पसलमा चिनीको मुल्य प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको थियो। बजारमा चिनीको मुल्य प्रतिकिलो ८० देखि ९० रुपैयाँ बिक्री भइरहेको छ।

दसैं अवधिभर सुपथ मूल्य पसलमा चिनी नपाइए पनि शुक्रबारदेखि पुनः शुरु गरिएको छ। साल्ट साल्ट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालय धनगढीका सूचना अधिकारी तेजबहादुर कुँवरले शुक्रबार चार सय २० बोरा चिनी आएको र अझैं केही ट्रक आउने क्रममा रहेको जानकारी दिए।

सुपथ मूल्य पसलमा शुक्रबार एक हजार दुई सय ६४ किलो चिनी विक्री भएको उनले बताए। सुपथ मूल्य पसल सञ्चालन भएदेखि हालसम्म १५ हजार एक सय ३५ किलोग्राम चिनी विक्री भएको छ।

सुपथ मुल्य पसलबाट चामल, चिनी खरिद गर्न पुगेकी मनिशा जोशीले यस्ता सुपथ मुल्य पसल वर्षभरी नै सञ्चालन गर्नुपर्ने बताइन्।

यस वर्ष साल्ट्रेडिङ कर्पोरशनले आफ्नै भवनको सटर मार्फत नया बिक्री कक्ष स्थापना गरि सुपत मुल्य पसल सञ्चालन गरेको छ।

साल्टट्रेडिङ कर्पोरशनका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले सुपथ मुल्य पसलमा नुन प्रतिकिलो १८, चिनी प्रतिकिलो ७० रुपैया, साबुन प्रति गोटा ३० रुपैयामा कायम गरिएको बताए। त्यस्तै चिउरा, चामल, सेनेटाइजरमा पनि बजार मूल्यभन्दा सहुलियत दरमा बिक्री भइरहेको छ।

उपभोक्ता महङ्गीको मारमा परिरहेको बेला सुपथ मुल्य पसलबाट उपभोक्ताले राहत पाउँदा आकर्षण बढेको उनले बताए।
 

 

कात्तिक १६, २०७७ आइतबार ११:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।