जनकपुरधाममा कोजागराको उल्लास

जनकपुरधाममा कोजागराको उल्लास

जनकपुरधाम : जनकपुरधाममा कोजागरा महोत्सव आज हर्षाेल्लासपूर्वक मनाइँदै छ। कोजाग्रात पूर्णिमाका दिन यो मनाउने परम्परा छ। 

पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ। मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिकारूपमा प्रसिद्ध मानिएको छ।

कोजागराको रात भगवती श्रीलक्ष्मीले स्वयम् निरीक्षण गर्ने र रातमा जाग्राम बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने जनविश्वास छ।

यस अवसरमा महोत्तरीको रतौलीका स्वर्गीय ब्रहमदेव ठाकुरको घरबाट प्रत्येक वर्षजस्तै एक सय एक वटा पाहुर जानकी मन्दिरमा ल्याइएको छ। मन्दिरको पाहुरमा पान, मखान, लडु, खाजा, दही, चामल, दाल, तरकारीका अतिरिक्त रामजानकीको लुगा रहेको थियो।

स्वर्गीय ब्रहमदेव ठाकुरको घरबाट जानकी मन्दिरमा परम्परागत हिसाबले कन्धामा स्थानीयवासीले पाहुर ल्याएका छन्। उनको परिवारका नवीन ठाकुर वर्षाैंदेखिको परम्परालाई निरन्तरता दिएको बताउँछन् । यो परम्परा ११९ वर्षदेखि चल्दै आएको छ। 

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवका अनुसार कोजागरा महोत्सवमा रामजानकीको चुमाओन (विशेष पूजा) गरिन्छ। जुन दृश्य एकदमै आकर्षक हुने उनी बताउँछन्।

मिथिलाञ्चलमा नवविवाहित बेहुलाको घरमा पनि कोजागरा हुने परम्परा छ। मिथिला क्षेत्रमा मंसिर, माघ, फागुन, जेठ र असारसम्ममा विवाह भएका वरलाई कोजागरामा चुमाउने गरिन्छ। बधु पक्षद्वारा वर पक्षलाई पठाइएको सामग्रीले यो पर्वमा रमाइलो गरी पासा र पचिसी खेल्ने परम्परा छ।

चुमाओन विधिमा शरीरका शीर्षदेखि चरणसम्म पाँचवटा प्रमुख स्थानलाई चुमाउने गरिन्छ। हातका पाँच औंँला पञ्च महाभूतका प्रतीक मानिन्छ। पाँच स्थानको स्पर्शले शरीर ऊर्जावान हुने विश्वास मिथिला क्षेत्रमा पाइन्छ।

शरद् पूर्णिमाको चन्द्रमालाई पूर्णयौवन सम्पन्न चन्द्रमा मानिन्छ । यस दिनको ज्योत्स्नामा अमृत तत्वको वर्षा हुने विश्वास छ। कोजागरा पर्वलाई जागृति पर्व पनि मानिएको छ। त्यसैले यस पर्वलाई विष्णुत्वको प्रतीककारूपमा समाजले स्वीकार गरेको पाइन्छ।

यस अवसरमा जानकी मन्दिरमा बिहानैदेखि गीतनाद भइरहेको छ।

सो समारोहमा विभिन्न मन्दिरका महन्थ, स्थानीयवासीहरुको विशेष सहभागिता थियो । मैथिल संस्कतिको एउटा प्रमुख अंग रहेको सो पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाई खाने तथा एक अर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने चलन छ। कोजागरामा टाढा टाढाबाट मानिसहरु रामजानकीलाइ पान मखान चढाउन आउने गर्छन्। 

साहित्यकार अयोध्यानाथ चौधरीका अनुसार यो पर्वमा भगवान विष्णुलाई स्मरण गरिन्छ। विष्णुको अवतार राम रहेका छन्। त्यसैले जानकी मन्दिरमा र मिथिलाञ्चलमा ज्वाईलाई पनि विष्णुकै रुपमा लिने गरिन्छ।

समाजसेवी अमरचन्द्र अनिल यो उत्सवमा प्रदेश सरकार र स्थानीय तह चासो नदेखाउनु चिन्ताको विषय भएको बताउँछन्। 

कात्तिक १५, २०७७ शनिबार १९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।